काठमाण्डौ । दुई दिन लगातार बढेको बजारमा आज मंगलबार दोहोरो अंकको करेक्सन आएको छ।

धितोपत्र कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक १७.७९ अंकको गिरावटका साथ २४२३.०९ को विन्दुमा ओर्लिएको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.५८ ले घटेर लागेर ४४७.२४ को विन्दुमा झरेको छ। आज कारोबार रकम पनि थोरै घटेर सवा ८ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको करेक्सनलाई सामान्य रुपमा लिन्छन्। ‘यो बढ्दो बजारको सुन्दर पक्ष हो’, उनी भन्छन्, ‘आगामी दिनमा सेयर किन्न खोज्नेलाई मौका पनि हो।’

सामान्य करेक्सन आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको घिमिरेको भनाइ छ। ‘आज उच्च खरिदचाप देखिएको छ, यसले बजार अझै मजबुत भएको देखाउँछ’, उनल भने, ‘अर्कोतर्फ अल्पकालीन लगानीकर्ता बढ्दो बजारबाट प्रफिट बुक गर्दा पनि आज बजार थोरै घटेको हो।’

केही समययता बजार बढ्नुको श्रेय भने घिमिरे नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्की, पूर्वगर्भनर चिरञ्जीवी नेपाल र सीडीएससीका पूर्वप्रमुख देवप्रकाश गुप्ताले गरेका राम्रा काम र पहल नै रहेका बताउँछन्। ‘उनीहरुका कामको परिणाम अहिले बजारमा देखिएको छ’, उनले भने।

अहिले बजार बुलिस ट्रेन्डमै लम्किरहेको अर्का सक्रिय लगानीकर्ता पीभी पोखरेल बताउँछन्। अहिले टर्नओभरले राम्रै साथ दिइरहेकोले सानातिना करेक्सन आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको उनको तर्क। ‘बुलिस मार्केटमा ५०–१०० अंकको करेक्सन सामान्य नै मान्नुपर्छ’, उनले भने। 

बजार वृद्धिले राज्यलाई राम्रै कर आम्दानी भइरहेका हुँदा सरकारले पनि सेयर बजारको विकास र विस्तारका लागि सोच्नुपर्ने अवस्था आइसकेको पोखरेलको भनाइ छ।  

आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ।

यो दिन होटेल्स् समूह ५४.०५ अंकले उकालो लाग्दा वित्त समूहमा १३.०७ अंकको बढोत्तरी भएको छ। 

आज निर्जीवन बीमा समूहमा सर्वाधिक ९८.५७ अंकले ओरालो लागेको छ। व्यापार समूह ९२.४२ अंकले घटेको यो दिन बैंकिङ समूहमा ६.८१ अंक, विकास बैंक समूहमा २९.४८ अंक, जलविद्युत् समूहमा २७.५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४१.८७ अंक, अन्य समूहमा २५.७९ अंक, लघुवित्त समूहमा ४१.०९ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ९६ लाख ६ हजार ५५५ कित्ता सेयर ८ अर्ब २७ करोड ९७ लाख १ हजार ७७ रुपैयाँबराबरको कारोबार भएको छ। 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ४५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको ५२ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिखर इन्स्योरेन्सको २३ करोड १७ लाख रुपैयाँ, नेपाल पुनर्बीमाको २० करोड ४ लाख रुपैयाँ, नेपाल टेलिकमको १६ करोड ४४ लाख रुपैयाँ, नागरिक लगानी कोषको १६ करोड ४३ लाख रुपैयाँ, नबिल बैंकको १५ करोड ७१ लाख रुपैयाँ, सनराइज बैंकको १५ करोड ५८ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १४ करोड ९ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यो दिन गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज पोखरा फाइनान्सको सेयरमूल्य पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन शिवश्री हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा घटेको छ।