काठमाण्डौ। रोल्स रोयस मोटर कारले आफ्नो ११६ वर्षे इतिहासमा सबैभन्दा राम्रो त्रैमासिक बिक्रीको रेकर्ड बनाएको छ। 

विश्वका धनाढ्यहरुको पहिलो रोजाइमा रहँदै आइरहेको लक्जरी कार निर्माता कम्पनीले सन् २०२१ को पहिलो त्रैमासमा १ हजार ३८० युनिट कार बिक्री गरेको हो। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ६२ प्रतिशतले धेरै हो। यससँगै कम्पनीले यसअघि सन् २०१९ मा कायम भएको त्रैमासिक बिक्रीको रेकर्डलाई ताडेको छ। 

कम्पनीले कुल्लिनान ब्रान्डको माग सबैभन्दा धेरै भएको जनाएको छ। ३ टनको यो कारको सुरुआती मूल्य ३ लाख ३५ हजार अमेरिकी डलर पर्ने गर्दछ। अप्सन र कस्टमाइजेसनका आधारमा यसको मूल्य ४ लाख अमेरिकी डलरभन्दा बढी पर्ने गर्दछ। 

कम्पनीका अनुसार सबैभन्दा राम्रो बिक्री गस्ट मोडलको रहेको छ। जसको सुरुआती मूल्य ३ लाख ३२ हजार रुपैयाँ रहेको छ। 

रोल्स रोयसको बिक्रीमा आएको उछालले कोरोना महामारीका कारण अरबौ डलर कमाउन सफल विश्वका धनाढ्यहरु खर्च गर्न तयार रहेको संकेत गरेको विश्लेषकहरुले बताएका छन्। यसबीचमा महँगो मूल्य पर्ने अन्य कार कम्पनीहरु बेन्टले र ल्याम्बोरगोनीको बिक्री पनि वृद्धि भएको छ। 
रोल्स रोयसले कारको माग निरन्तर वृद्धि भइरहेको र दोस्रो त्रैमासका लागि अर्डर बढिरहेको जनाएको छ। – एजेन्सी