काठमाण्डौ । कालिका पावर कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो। घोषित लाभांशमा १५ प्रतिशतले हुन आउने ९ करोड रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ४७ लाख ३७ हजार रुपैयाँबराबरको नगद लाभांश छन्। 

यसैबीच सोही बैठकले कम्पनीको वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा चितवनको भरतपुरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेपछि कार्यान्वयनमा आउनेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरु लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।