पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन्। संस्थाको आज जेठ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार संस्थाका सञ्चालक रहेका क्षेत्री सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन भएका हुन्। 

यसअघिका अध्यक्ष कृष्ण खाँड वालिद्ध नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्मत चयन गरेको बताइएको छ।

महाशिला गाउँपालिका–४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका–६ मा बसोबास गर्ने क्षेत्रीले  कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गरेका छन्।

क्षेत्री २०४६ देखि २०५० सम्म शिक्षण पेसामा, २०५५ देखि २०७४ सम्म जिविसलगायत विभिन्न संघसंस्थामा कानुनी सल्लाहकारका साथै २०५१ सालदेखि हालसम्म वकालत पेसामा आबद्ध रहेका छन्।