काठमाण्डौ । सफेद धन सेयर बजारमा लगानी गर्नेहरु अत्तालिनुपर्ने अवस्था थिएन, तर ठूलो धनराशि(कालोधन) सेयर बजारमा लगानी गर्नेहरुले सुनियोजित रुपमा बजारलाई प्रभाव पार्ने काम गरे र धितोपत्र बोर्डका केही अधिकारीलाई समेत हातमा लिएर अत्याउने काम गरियो । 

यसरी अत्याउनुपर्ने प्रमुख कारण थियो, धितोपत्र बजारमा भित्रिएको कालोधन र त्यसमा स्वयम् नेपाल धितोपत्र बोर्डले समिति नै बनाएर थालेको छानबिन । हरेक दिन १० लाख भन्दा बढीको हुने कारोबारको स्रोतको खोजी हुन थालेपछि मौन बसेका लगानीकर्ताहरु मंगलबार एकाएक उत्साहित देखिएका छन् । उत्साहित भएर लगानी गर्न थुप्रिँदा बजारमा एकैदिन दुई पटक सर्किट ब्रेकर लगाउनुपरेको छ । सोमबार ५ प्रतिशतले पहिरो गएको बजार मंगलबार यूटर्न भई ५ प्रतिशतकै हाराहारीमा बुलिस ट्रेण्डमा कुदेपछि धितोपत्र बजार र यसमा हुने लगानीका बिषयमा अनेकन अनुमानहरु लगाउन थालिएको छ । 

‘यो कुराले छानबिनबाट अत्तालिएका कालोधनवालाहरु उत्साहित भएर बजारमा आएका पुष्टि गर्छ ।’ एक विश्लेषकले दाबीका साथ भने–‘धितोपत्र बोर्डले कालोधनको छानबिन गर्न गठित समिति खारेज गरेर कालोधनलाई धितोपत्र बजारमा खुलेआम स्वागत गरेजस्तो भयो । बोर्ड नै स्वागत गरेपछि लुकेर बसेका कालाधनवालाहरु समेत बजारमा थुप्रिए र यस्तो अवस्था आयो ।’ 

‘यो कुराले छानबिनबाट अत्तालिएका कालोधनवालाहरु उत्साहित भएर बजारमा आएका पुष्टि गर्छ । धितोपत्र बोर्डले कालोधनको छानबिन गर्न गठित समिति खारेज गरेर कालोधनलाई धितोपत्र बजारमा खुलेआम स्वागत गरेजस्तो भयो । बोर्ड नै स्वागत गरेपछि लुकेर बसेका कालाधनवालाहरु समेत बजारमा थुप्रिए र यस्तो अवस्था आयो ।’ -विश्लेषक

 

तर 'सेतो धन' लगानी गर्नेहरुलाई समेत धितोपत्र बोर्डले छानबिनको नाममा अपराधी र तस्करजस्तो व्यवहार गरेका कारण केही हदसम्म हच्किएका त्यो समूह समेत समिति खारेजीपछि उत्साहित भएका विश्लेषक रविन्द्र भट्टराईको ठम्याई छ । 

मंगलबार ८४.५१ अंकले बजार बढी कारोबार सुरु भएको १ घण्टा १२ मिनेटमा बजार नै बन्द गर्नुपर्ने अवस्था आयो । बजारलाई यसरी यूटर्न गराउने मुख्य भूमिका धितोपत्र बोर्डले नै निर्वाह गरेको थियो । उसले सोमबार २ फरक–फरक विज्ञप्ति निकालेर लगानीकर्तालाई आश्वस्त पारेको थियो । एउटा विज्ञप्तिमा बजारमा निराश नभई लगानी गर्न भनिएको थियो भने अर्को विज्ञप्तिमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन गर्न गठित समिति खारेजीको निर्णय थियो । 

धितोपत्रले बजार सुधार तथा लगानीकर्तालाई सचेत गराउने अन्य कैयन विकल्पतर्फ नगई जायज सो समिति नै विघटन गर्नु र त्यसको भोलिपल्टै बजारमा बुलिस ट्रेण्ड देखिनुलाई स्वभाविक मान्न नसकिने कतिपय विश्लेषक बताउँछन । ‘कालोधनको छानबिनलाई रोक्न कुन हिसाबले शक्तिकेन्द्रहरु लागेका रहेछन् भन्ने सोमबार र मंगलबारको बजार हेर्दा थाहा हुन्छ ।’ एक अर्का विश्लेषकले भने–‘पहिला कालो धन हुनेहरुले लगानी नगरी चुपचाप बस्दा बजार क्र्यास हुने अवस्थामा पुग्यो भने मंगलबार लुकेर बसेका तिनै लगानीकर्ता बजारमा थुप्रिदा सर्किट ब्रेकर लाग्यो ।’ ती विश्लेषकको भनाईमा बोर्डको कतिपय गलत रबैयाका कारण निराश भएका राम्रा लगानीकर्ता समेत उत्साहित भएका र त्यसले समेत बजारलाई बुल गराउन सहयोग गर्यो ।  

धितोपत्रले बजार सुधार तथा लगानीकर्तालाई सचेत गराउने अन्य कैयन विकल्पतर्फ नगई जायज सो समिति नै विघटन गर्नु र त्यसको भोलिपल्टै बजारमा बुलिस ट्रेण्ड देखिनुलाई स्वभाविक मान्न नसकिने कतिपय विश्लेषक बताउँछन । 

मंगलबार ११ बजेदेखि खुलेको बजारमा नेप्से परिसूचक बुलिस ट्रेण्डसहित उकालो लागेपछि १५ मिनेटमै पहिलो सर्किट ब्रेकर लगाउनुपरेको थियो । त्यसपछि फेरि खुला गरिएको कारोबारको क्रममा बजारले पुनः बुलिस ट्रेण्ड नै समातेपछि अर्को सर्किट ब्रेकर लगाई मंगलबारका लागि कारोबार नै स्थगित गर्नुपर्ने अवस्था आयो ।

५.०४ प्रतिशतले बढेको नेप्से मंगलबार १७६०.४२ अंकमा पुगेको छ । बजार उच्चदरमा बढे पनि २९ करोड ८३ लाख रुपैयाँ बराबरको मात्र कारोबार भयो । ८४ कम्पनीको ३ लाख १० हजार कित्ता सेयर मात्र खरीदबिक्री हुन पायो । 

मंगलबार चारवटा समूहको परिसूचक ५ प्रतिशत बढीले उक्लियो । सबैभन्दा धेरै बिमा समूहको परिसूचक ६.४२ प्रतिशतले उकालो लाग्यो भने वाणिज्य बैंक ६.१३, जलविद्युत समूह ५.५७ र होटल समूहमा ५.७१ प्रतिशतको बढोत्तरी देखियो । विकास बैंक, बित्त कम्पनी र अन्य समूहको परिसूचक दोहोरो अंकले उक्लियो । 

छोटो अवधिमै बन्द भएको बजारमा लगानीकर्ताको रोजाई वाणिज्य बैंक नै देखिए । सबैभन्दा बढी नेपाल बैंक लिमीटेडको ४ करोड २० लाखको कारोबार भयो । एभरेष्ट बैंकले ४ करोड १७ लाख, सिद्धार्थ बैंकले ३ करोड ५६ लाख, नेपाल बंगलादेश बैंकले ३ करोड ४८ लाख बराबरको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंककै कब्जामा रह्यो । वाणिज्य बैंकहरुले उच्च नाफासहितको वासलात सार्वजनिक गरिरहेको सन्दर्भले समेत यो समूहमा लगानीकर्ता आकर्षित भएका देखिएको छ । 

मंगलबार १० भन्दा बढी कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । प्राइम कमर्सियल बैंक, नेपाल बैंक र शिखर इन्स्योरेन्सका लगानीकर्ता मालामाल भए । यी तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यसैगरी, एभरेष्ट इन्स्योरेन्स, हिमालयन बैंक, एनएमबी बैंक र प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा क्रमशः ९.९९, ९.९८, ९.९७ र ९.९७ प्रतिशतले बढोत्तरी भयो । मेगा बैंक, कृषि विकास बैंक र सानिमा बैंकको सेयर मूल्यमा क्रमशः ९.९६,९.९४ र ९.९३ प्रतिशतको वृद्धि देखियो । लुम्बिनी फाइनान्स, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य घट्यो ।  

बोर्डको भूमिकामाथि छानबिन हुनुपर्ने
धितोपत्र बजारमा कस्तो लगानी भित्रिरहेको छ र त्यस्ता लगानीलाई कसरी नियन्त्रण तथा व्यवस्थापन गर्ने भन्ने बिषयको प्रमुख जिम्मेवारी नेपाल धितोपत्र बोर्डको हो । तर उसले हतारमा कालोधन छानबिनका लागि गठन गरेको समिति नै खारेज गर्नुले त्यहाँका अधिकारीहरु कालोधन हुनेहरुको आर्थिक प्रभावमा परे कि भन्ने आशंका उत्पन्न भएको बजार विश्लेषकहरु बताउँछन् ।

धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्ने क्रममा ‘कालोधनको बिषयमा छानबिन गर्ने राज्यका अन्य निकायहरु पनि छन्’ भन्ने सन्दर्भ उल्लेख गरेको छ । एकैदिन १० लाख बढी कारोबार गर्नेहरुको विवरण ब्रोकर कम्पनीले दैनिक रुपमा सम्पत्ति शुद्धीकरण विभाग र नेपाल राष्ट्रबैंकमा पठाउँदै आएका छन् । ती विवरणको बिषयमा ती निकायले अहिलेसम्म छानबिनको आवश्यकता देखेका छैनन् । 

‘बजारमा पछिल्लो समय बढेको कालोधनको बिषयमा छानबिन गरी सामान्य लगानीकर्ताहरुको हित रक्षा गरिनुपथ्र्यो ।’ ती विश्लेषकले भने–‘तर बोर्डले उल्टो काम गर्यो । कालोधनवालाहरुको प्रभावमा परेर ढोका खोलिदियो, अब छानबिन नै नहुने भएपछि कालोधन नेप्सेमा भित्रिने र सफेद बनाएर बाहिर निकाल्ने कामले तीव्रता पाउने निश्चित छ ।’ 

धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्ने क्रममा ‘कालोधनको बिषयमा छानबिन गर्ने राज्यका अन्य निकायहरु पनि छन्’ भन्ने सन्दर्भ उल्लेख गरेको छ । एकैदिन १० लाख बढी कारोबार गर्नेहरुको विवरण ब्रोकर कम्पनीले दैनिक रुपमा सम्पत्ति शुद्धीकरण विभाग र नेपाल राष्ट्रबैंकमा पठाउँदै आएका छन् । ती विवरणको बिषयमा ती निकायले अहिलेसम्म छानबिनको आवश्यकता देखेका छैनन् । फेरि धितोपत्र बोर्ड नै त्यस्तो प्रमुख निकाय हो, जसले धितोपत्र बजारका हरेक कुराहरुसँग सरोकार राख्छ र ती बिषयमा छानबिन गर्ने अधिकार राख्छ । तर धितोपत्र बोर्ड एकाएक किन कालोधन हुनेहरुसँग आत्मसमर्पण गर्न तयार भयो होला, भन्ने बिषय रहस्यमय बनेको छ । यसकारण बोर्डको भूमिकाको बिषयमा छानबिन हुनुपर्ने आवश्यकता देखिएको छ ।