काठमाण्डौ । पूँजीबजारलाई विगत केही सातादेखि बिमा समूहले डोहोर्याइरहेको छ । बजारमा एकछत्र दवाब सिर्जना गरिरहेको बिमाको लगानी सुरक्षित नभए पनि लगानीकर्ताहरुको आश्चर्यलाग्दो भीड त्यस्ता कम्पनीहरुमा देखिएको छ । बिमा कम्पनीको शेयर खरीदमा देखिएको आकर्षणले जोखिम बढाइरहेको विज्ञहरुले बताए पनि लगानीकर्ता यस्ता कुरा सुन्न तयार छैनन् । बरु बिमामा भविष्य देखी लगानी गर्नेहरुको संख्या दिनहुँ बढिरहेको छ । यही कारण बिमाको समूह सूचक एकैदिन तेहोरो अंकले बढ्न थालेको धेरै भयो । साताको पहिलो कारोबार दिन आइतबार त यो समूहको परिसूचक एकैदिन ३३६.८२ अंकले बढेको छ । आखिर यति विघ्न बिमाको परिसूचक किन बढिरहेको छ ? किन बिमाको शेयर खरीद गर्न लगानीकर्ताहरुको अपहत्ते गरेर लागेका छन् ? 

संभावित पूँजी वृद्धि
नेपाल राष्ट्रबैंकले वाणिज्य र विकास बैंकहरुको पूँजीवृद्धिको नीति सार्वजनिक गरेलगत्तै ती संस्थाहरुमा मर्जर, एक्वीजिसनको क्रम बढेर गएको छ । कतिपयले आफैं पूँजी वृद्धि गर्ने रणनीति अन्तर्गत हकप्रद र बोनस शेयर जारी गर्ने लहर चलेको छ । एक  हिसाबले भन्दा पूँजी बजारमा बैंकहरुको हकप्रद र बोनस शेयरको बाढी नै आएको छ । यही अवधिमा कतिपयले अतिरिक्त निश्कासनतर्फ समेत ध्यान दिइरहेका छन् । जसरी बैंकहरुको पूँजी वृद्धि भयो, यसैगरी निकट भविष्यमै बिमा कम्पनीहरुको समेत चुक्तापूँजी वृद्धि हुनेमा लगानीकर्ताहरु ढुक्क छन् । नियामक निकायले निकट भविष्यमै पूँजीवृद्धि गर्ने र बिमा कम्पनीहरुलाई समेत जोखिमरहित बनाउने विश्वासका साथ यस्ता कम्पनीको शेयरमा लगानीकर्ताहरुको थामिनसक्नु भीड देखिएको छ । 

यसैगरी, चालु आर्थिक वर्षको तेश्रो त्रैमासको रिपोर्टलाई हेरेर समेत लगानीकर्ताहरु बिमातर्फ थुप्रिएका छन् । कुनै कुनै बिमा कम्पनीले त अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष सतप्रतिशतले खूद नाफा बढाएका छन् । व्यापारको समेत आकार बढाएपछि बिमा कम्पनीको शेयरमा लगानीकर्ताले आफ्नो सुरक्षा देखेका हुनसक्छन् । 

आम्दानी, नाफा र व्यापारमा अर्जुनदृष्टि
चालु आर्थिक वर्षको ९ महिनाको बित्तीय विवरणलाई हेरेर पनि धेरै लगानीकर्ताहरु बिमातर्फ आकर्षित भएका देखिन्छन । देशका ७ जीवन बिमा कम्पनीहरुले ९ महिनाको अवधिमा ५८ करोड खूद नाफा गरेका देखिएको छ । समग्रमा नाफाको यो बढोत्तरी अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले बढी हो । बिमा कम्पनीहरुको व्यापार र आम्दानी पनि राम्रै हिसाबले बढिरहेको छ । चैतसम्ममा यी कम्पनीहरुले ८० करोड ६३ लाख भन्दा बढी आम्दानी गरेका छन् । गत आबको यही अवधिको तुलनामा आम्दानी पनि यो वर्ष १८ प्रतिशतले बढेको हो । 

यसैगरी, कम्पनीहरूले भैपरी आउने जोखिमबापत छुट्ट्याएको रकममध्ये ३ करोड ४२ लाख रुपैयाँ उठाउन सफल भएका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ४ गुणाले बढी हो । त्यस्तै, सो अवधिमा बिमालेख धितोबापत प्रदान गरिएको कर्जालगायत अन्य लगानीबाट समेत यी ७ कम्पनीले राम्रो आम्दानी गर्न सफल भएका देखिएको छ । 

बिमाको शेयरमा देखिएको आकर्षणको अर्को कारण हो, बिमा कम्पनीहरुले घटाएका खर्च । चालु आ.ब.को ९ महिनाको अवधिमा ७ वटै कम्पनीहरुले साबिकको खर्च ४४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २८ करोड ५८ लाख रुपैयाँ खर्च गरेका कम्पनीले यो वर्षको सोही अवधिमा खर्चलाई घटाएर १५ करोड ९९ लाख रुपैयाँमा झारेका छन् । तेश्रो त्रैमासिक रिपोर्टमै यति राम्रो आम्दानी गरेका र खर्च घटाएका कारण पूरा आर्थिक वर्ष सकिँदा यी कम्पनीहरुले नाफामा राम्रो वृद्धि गर्न सक्ने र लगानीकर्तालाई राम्रो प्रतिफल दिने आशामा समेत बिमाको शेयरमा अनपेक्षित आकर्षण बढिरहेको शेयर बजार विश्लेषकहरु बताउँछन । 

अचम्म के छ भने वाणिज्य बैंकहरुको पीई रेसियोको तुलनामा बिमा समूहको पीई रेसियो उच्च हुँदा समेत लगानीकर्ताहरु आँखा चिम्लिएर बिमातर्र्फ ओइरिएका छन् । ‘वाणिज्य बैंक भन्दा बिमाको शेयरमा लगानी गर्नु जोखिमपूर्ण छ ।’ एक विज्ञले भने–‘पीई रेसियो उच्च हुँदा समेत बिमामै लगानी गर्न चाहनु भविष्यमा राम्रो होला भन्ने आशाले मात्र हो, यदि भएन भने सबैको लगानी डूब्छ ।’ 

बिमा कम्पनीहरुका अनुसार यो अवधिमा जीवन बिमा कोषको आकार पनि बढेको छ, यसले समेत कम्पनीको नाफा बढाइदिएको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीहरूको जीवन बिमा कोषमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी रकम अर्थात कुल ८० खर्ब ९४ लाख रुपैयाँ थुप्रिएको छ । विश्लेषकहरुका अनुसार कम्पनीहरुको दीर्घकालीन लगानी ३२.६७ प्रतिशतले बढेका कारण बिमा कम्पनीहरुको शेयरमा अझ बढी आकर्षण देखिन सक्ने संभावना छ ।

नाफाका केही उदाहरण
चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा शतप्रतिशत बढेको छ । तेस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीले २३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा ११ करोड ८७ लाख रुपैयाँ मात्र थियो ।

यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोेरेसनको खूद नाफा ४ करोड ५१ लाख १५ हजार पुगेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ करोड ३९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड ६ लाख रुपैयाँ मात्र खूद नाफा गरेको प्राइम लाइफले यो वर्ष सोही अवधिमा नाफा बढाएर ९ करोड ४४ लाख पुर्याएको छ । 

नाफा घटेको पनि छ


सचेत नभए  माथिको अवस्था आउला है ?

संचालन खर्च अत्यधिक भएर केही बिमा कम्पनीहरुको नाफा भने घटेको छ । जस्तो अघिल्लो वर्ष ९ महिनाको अवधिमा १२ करोड ४२ लाख खूद नाफा कमाएको नेशनल लाइफको नाफा यो वर्ष खुम्चिएर ११ करोड ८६ लाखमा सीमित भएको छ । 

यसैगरी, अघिल्लो आ.ब.को तेश्रो त्रैमास अवधिमा १ करोड ५५ लाख ७५ हजार नाफा आर्जन गरेको सूर्या लाइफ इन्स्योरेन्सको नाफा यो वर्ष सोही अवधिमा खुम्चिएर ७९ लाख रुपैयाँमा सीमित भएको छ । गुराँस लाइफ इन्स्योरेन्सको नाफा समेत घटेको छ । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड ५८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको गुराँस लाइफले यो वर्ष सोही अवधिमा १ करोड १५ लाख रुपैयाँमै चित्त बुझाउनुपरेको छ ।

पीई रेसियो उच्च, जोखिम पनि उच्च

कम्पनीको तत्कालको बजार मूल्यलाई पछिल्लो प्रति शेयर आम्दानीले भाग गर्दा आउने अनुपातलाई मूल्य आम्दानी अर्थात पीई अनुपात भनिन्छ । यो अनुपात जति कम भयो, त्यति नै कम्पनीको शेयर लगानीका लागि आकर्षक बन्दै जान्छ । मूल्य आम्दानी अनुपात बढ्दै गएमा शेयरको मूल्य कुनै पनि बेला झर्नसक्ने जोखिम बढ्छ । पीई रेसियो पनि लगानीकर्ताका लागि एउटा दरिलो इण्डिकेटर हो । तर अहिले बिमाको शेयर किन्न अपहत्ते गरेर लागेकाहरुले यो इण्डिकेटरतर्फ ध्यान नै नदिएका देखिन्छ । अचम्म के छ भने वाणिज्य बैंकहरुको पीई रेसियोको तुलनामा बिमा समूहको पीई रेसियो उच्च हुँदा समेत लगानीकर्ताहरु आँखा चिम्लिएर बिमातर्र्फ ओइरिएका छन् । ‘वाणिज्य बैंक भन्दा बिमाको शेयरमा लगानी गर्नु जोखिमपूर्ण छ ।’ एक विज्ञले भने–‘पीई रेसियो उच्च हुँदा समेत बिमामै लगानी गर्न चाहनु भविष्यमा राम्रो होला भन्ने आशाले मात्र हो, यदि भएन भने सबैको लगानी डूब्छ ।’ 

शेयर बजार विश्लेषक रविन्द्र भट्टराईका अनुसार शेयर बजारको लगानी जहिले पनि जोखिमपूर्ण नै हुन्छ । भविष्यमा पूँजी बढाउने भन्ने आशाले बिमातर्फ लगानीकर्ताको भीड देखिए पनि आकर्षणलाई पुष्टि गर्ने ठूला कारण केही नभएको उनको तर्क छ । ‘खोई किन हो लगानीकर्ताको औधी भीड देखिएको छ बिमातर्फ !’ उनले भने–‘केही बिमा कम्पनी राम्रा होलान्, तिनीहरुको शेयर मूल्य पनि उच्च होला । तर लगानीकर्ताहरु घाटामा गएका र बित्तीय रुपमा जोखिमपूर्ण बिमा कम्पनीहरुमा समेत आँखा चिम्लिएर लगानी गरिरहेका छन्, यसले जोखिम बढाएको छ ।’ 

विश्लेषकहरुको भनाईमा बिमा कम्पनीको शेयरमा अस्वभाविक र अप्राकृतिक भीड देखिनुको महत्वपूर्ण कारण आपूर्ति र मागबीचको असन्तुलन पनि हो । बिमा समूहको शेयर आपूर्ति वाणिज्य बैंकको तुलनामा कम छ र उच्च मागका कारण यसको समूह सूचकको अंक वा शेयरको मूल्य अचाक्ली बढिरहेको छ । वाणिज्य बैंकहरु २०७४ असार मसान्तसम्म चुक्तापूँजी ८ अर्ब पुर्याउने दौडमा छन्, यसको अर्थ यो समूहको शेयरको आपूर्ति अधिक छ । तर ३० देखि ३५ करोडको हाराहारीमा चुक्तापूँजी रहेका बिमा कम्पनीहरुको आपूर्ति थोरै र माग धेरै छ । 

विश्लेषकहरुले बिमामा अन्धाधुन्ध लगानी नगर्न र यसले जुनसुकै बेला लगानी डूब्नसक्ने भन्दै लगानीकर्ताहरुलाई  सचेत रहन आग्रह गरेका छन् ।