काठमाण्डौ । एलन मस्कले ट्विटरमा निरन्तर परिवर्तन गरिरहेका छन्। तर, मस्कले ट्विटर अफिसमै केही फेरबदल गरे अहिले निकै चर्चा र आलोचना भइरहेको छ। 

रिपोर्टका अनुसार मस्कले ट्विटरको सान फ्रान्सिस्को मुख्यालयमा रहेको केही अफिस स्पेसलाई बेडरुममा परिणत गरेका छन्। अफिस स्पेसमा बनेको बेडरुमका तस्बिरहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेका छन्। 

नयाँ काम कल्चरका कारण काम गर्दा थकित हुने र घर जाने समय नपाएका कर्मचारीका लागि ती बेडरुम तयार पारिएको बताइएको छ। तर, सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि सान फ्रान्सिस्को भवन निरीक्षण विभागको पनि ध्यानाकर्षण भएको छ। हाल व्यावसायिक कामका लागिमात्र भवन दर्ता भएकाले फर्मको अनुसन्धान पनि सुरु भएको छ।

ती बेडरुम न्यूनतम फर्निचरका साथ तयार गरिएको छ। ती कोठालाई कर्मचारी सुत्ने बेडरुममा परिणत गरिएका छन्। जहाँ लुगा धुन वासिङ मेसिन पनि राखिएको छ। तर, व्यावसायिक भवन भएकाले यसको अनुसन्धान पनि सुरु भएको छ। 

अर्को एउटा तस्बिरमा दराज राखिएको देखिन्छ भने एउटा तस्बिरमा सोफालाई सिंगल बेडमा बदलिएको देखाइएको छ।

फोर्ब्सको प्रतिवेदनमा उक्त भवनको प्रत्येक तल्लामा ४ वटादेखि ८ वटासम्म बेडरुम तयार पारिएको जानकारी दिइएको छ। कोठामा ठूला कन्फरेन्स रुम, टेलिप्रेसेन्स मनिटर, पर्दा, गद्दाहरु छन्। यसबाहेक कोठामा कार्पेट, काठको टेबल, क्विन साइजको ओछ्यान, टेबल ल्याम्प र दुईवटा अफिस कुर्सी पनि राखिएका छन्। –एजेन्सी