काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले असोज मसान्तदेखि नयाँ ब्रोकर कमिसन लागू गर्ने तयारी स्टक ब्रोकरहरुकै बाधाका कारण तुहिएको खुलासा भएको छ। 

स्रोतका अनुसार स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आफ्नो लेटरप्याडमा ब्रोकर कमिसन नघटाउन बोर्डलाई लेखी पठाएको छ। सोही कारणले नै बोर्डको नयाँ ब्रोकर कमिसन लागू गर्ने योजना तुहिएको बुझिइएको छ। 

ब्रोकर एसोसिएसनले बोर्डलाई ब्रोकर कमिसन घटाइएको खण्डमा व्यवसायबाट नै पलायन हुनुपर्ने र ब्रोकर पेसाबाट हात धुनुपर्ने अवस्थाको सिर्जना हुने भएको रोइलो मच्चाउँदै पत्र लेखिएको स्रोत जिकिर गर्छ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नै केही समयअघि बिजशालासँग असोज मसान्तसम्म नयाँ ब्रोकर कमिसन घटाउन सरोकारवाला र ब्रोकरबीच बृहत् छलफल गर्नुपर्ने अडान र धारणा राखेका थिए। सोही छलफलका लागि कोरोनाको कारण जनाउँदै असोज मसान्तदेखि ब्रोकर कमिसन घटाउने बोर्डको तयारी तुहिएको थियो।

ब्रोकर कमिसन पुनरावलोकन गर्न अध्ययन कमिटीलाई समेत स्टक ब्रोकरहरुले प्रभावित बनाउने हरदम प्रयास गरेको र धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई नै हारगुहार गरेपछि ब्रोकर कमिसन घट्ने सम्भावन केही पर धकेलिएको स्रोत दाबी गर्छ। ‘ब्रोकर कमिसन घटाउँ कि नघटाउँ भनेर बोर्डले स्टक ब्रोकरलाई सोध्ने हो भने उनीहरुले कहिल्यै घटाउनुपर्छ भन्छन्?’, बोर्डका एक अधिकारीले बिजशालासँग भने, ‘ब्रोकर कमिसन घटाउन नदिन बोर्डका उच्च अधिकारीहरु नै लबिङमा लागेका छन्। ब्रोकर कमिसनकै विषयमा ठूलो आर्थिक चलखेल भइरहेको छ।’

बोर्डले गत असार अन्तिमदेखि संशोधित नयाँ ब्रोकर कमिसन घटाई लागू गर्ने तयारी गरेको थियो। तर त्यतिबेलामा समेत स्टक ब्रोकरहरुकै तीव्र लबिङमा पुनः थप २ महिना समयावधि बढाएर ब्रोकर कमिसन पुनरावलोकन गर्न समय दिइएको थियो। 

हाल ब्रोकर कमिसन पुनरावलोकन प्रतिवेदन बोर्ड अध्यक्ष ढुंगानासमक्ष पेस भइसकेको छ।