काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ। 

आज नेप्से परिसूचक ४४.९४ अंकको करेक्सनका साथ २५५४.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनी सूचक पनि ८.५३ अंकले घटेर ४६१.८१ को विन्दुमा सीमित बनेको छ। आज कारोबार रकम पनि ६ अर्ब १० करोड रुपैयाँको हाराहारीमा भएको छ। 

बजार विश्लेषक केपी पाण्डेका अनुसार बजार आज घट्नुमा तलरतामा दबाब बढ्दै गएकोले ब्याजदर बढ्न सक्ने सम्भावना रहेको ठूला लगानीकर्ताहरु धमाधम पोर्टफोलियो व्यवस्थापन गर्नतिर लागेको देखिएको छ। ‘बैंकको ब्याजदर बढ्ने सम्भावनाकै कारण लगानीकर्ताहरुले धमाधम सेयर बेच्न थालेको देखिन्छ’, उनले भने, ‘यसले बजारलाई पक्कै पनि असर गर्छ।’

तरलतामा दबाब पर्न थालेपछि राष्ट्र बैंकले बैंकहरुबाट प्रवाह हुने कर्जा लगानीलाई सीमा तोक्न सक्ने भएकोले लगानीकर्ताहरु आत्तिएको हुन सक्ने पाण्डेको भनाइ छ। 

अर्कोतिर राजनीतिक अन्यौलता रहेकै कारण लगानीकर्ताहरुको मनोबलमा असर गरेको पाण्डेको तर्क छ। ‘तर विगतमा राजनीतिक अन्यौलताबीच बजार बढेको थियो’, उनले भने, ‘अहिले पनि राजनीतिको प्रभाव बजार पर्दै पर्दैन, त्यसैले राजनीतिक अस्थिरताले बजार घट्ने कारण नै छैन।’

सक्रिय लगानीकर्ता लक्ष्मी खड्काले बजार कुनै पनि हालतमा बियरिस ट्रेन्डमा नजाने दाबी गर्छिन्। अहिले बजारमा अल्पकालीन राजनीतिक प्रभाव परेको उल्लेख गर्दै उनले यसले बजारमा २–४ दिन प्रभाव पारे पनि दीर्घकालमा बढ्ने अवश्य बढ्ने दाबी गरिन्। ‘बजार अहिले करेक्सन आउनु स्वाभाविकै थियो, राजनीतिक प्रभाव निहुँमात्रै जोडिएको हो’, उनले भनिन्, ‘अहिले बजारले लगानीको अवसर सिर्जना गरिरहेको छ, बजार प्रवेश गर्ने यो उचित समय पनि हो।’ 

आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा रातो पोतिएको छ। जीवन बीमा समूह सर्वाधिक २९९.७८ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १७६.१८ अंकले घटेको यो दिन बैंकिङ समूहमा ३७.४९ अंक, व्यापार समूहमा ५५.१ अंक, होटेल्स् समूहमा १७.३६ अंक, विकास बैंक समूहमा ४७.४९ अंक, जलविद्युत् समूहमा २७.७५ अंक, वित्त समूहमा २५.७२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७२.२७ अंक, अन्य समूहमा ३६.७८ अंक, लघुवित्त समूहमा ६०.४८ अंक र म्युचुअल फन्ड समूहमा ०.०४ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४१४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन निफ्राको सर्वाधिक ९० करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २१ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको २१ करोड २६ लाख रुपैयाँ, नेपाल बैंकको २१ करोड १३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २० करोड ४० लाख रुपैयाँ, नेका इन्सुरेन्सको १८ करोड ३४ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १७ करोड ३० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ६३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ३३ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज चन्द्रागिरी हिल्सको सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो। यो दिन नेसनल हाइड्रोपावरको सेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। 

आज सनराइज फस्ट म्युचुअल फन्डका इकाइधनीहरुले धेरै गुमाएका छन्। यो फन्डको इकाइमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।