काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्मको तथ्यांक हेर्दा घर–जग्गाको कारोबार ह्वात्तै घटेको छ। 

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु वर्षको साउन महिनामा देशभरका १२८ वटा मालपोत कार्यालयबाट ३३ हजार ८३४ वटा घरजग्गा किनबेच भएका छ। विभागका अनुसार साउनमा करिब ३४ हजार वटा घरजग्गा लिखत पारित भएको छ भने ३ हजार १३२ वटा घर–जग्गा नामसारी भएका छन्। 

त्यस्तै भदौमा देशभर ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएका छन् भने २ हजार ८३९ वटा घर–जग्गा नामसारी भएका छन्। असोजमा २५ हजार ७८९ वटा घर–जग्गा किनबेच भएका छन् र २ हजार ३३९ वटा घरजग्गाको नामसारी भएको छ। 

पहिलो त्रैमासमा देशभर कुल ९३ हजार ४६२ घर–जग्गाको कारोबार भएको छ। 

विभागका अनुसार अघिल्लो वर्ष यही अवधिमा देशभर कुल २ लाख ४ हजार ९३८ वटा घर–जग्गा किनबेच (लिखत पास) भएको थियो। यो हिसाबले समीक्षा अवधिमा अघिल्लो वर्षको यही अवधिको तुलनामा १ लाख ११ हजार ४७६ वटा घर–जग्गाको कारोबार कम भएको छ। 

पछिल्लो एक वर्षभन्दा बढी अवधिदेखि बैंकिङ प्रणालीमा तरलता संकट देखिएको छ। बैंकहरुबाट स–साना कर्जा लिन पनि समस्या भइरहेको छ। कर्जा प्रवाहमा देखिएको समस्याकै कारण घर–जग्गाको कारोबार सुस्त बनेको एक कारोबारी बताउँछन्। ‘अर्कोतर्फ कर्जाको ब्याजदर आकासिएको छ’, ती कारोबारीले भने, ‘यस्तो अवस्थामा महँगो ब्याजमा कर्जा लिएर घर–जग्गामा लगानी गर्ने अवस्था पनि छैन।’

अर्कोतर्फ कोरोना महामारीका बेला सेयर बजारमा उछाल आएको छ। ‘धेरैले सेयर बजारबाट कमाएको पैसा घर–जग्गामा लगानी गरे’, एक लगानीकर्ताले भने, ‘त्यसैले सेयर बजारसँग घर–जग्गाको कारोबार पनि बढ्यो। तर, पछिल्लो एक वर्षको अवधिमा बजार निकै तल आएको छ, कारोबार पनि सुस्त बनेको छ। यही कारण घर–जग्गाको कारोबार पनि घटेको छ।’