काठमाण्डौ । नेपाल बैंक लिमिटेडले यही असोज १९ गते सोमबार विशेष साधारणसभा डोकेको छ।

कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच नेपाल बैंकले विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइने बैंकले जनाएको छ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभामा बैंक सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्वसम्बनधी साविकको व्यवस्थापमा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने चारजना सञ्चालकबाट घटाई तीनजना र सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित हुने दुईजना सञ्चालबाट वृद्धि गरी तीनजना कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने भनी राखिने विशेष प्रस्ताव राखिनेछ। यसका साथै बैंक तथा वित्तीय संस्थासम्बनधी ऐन, २०७३ बमोजिम हुने गरी बैंकको बन्धपत्र तथा नियमावलीलाई समायानुकूल अद्यावधिक गर्नुपर्ने भएकोले संलग्न तीन महले प्रस्तावबमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन तथा थपघट गर्ने विशेष प्रस्ताव पनि छलफलमा राखिनेछ। 

यसैगरी सभामा विशेष प्रस्तावका रुपमा बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोबमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने राखिनेछ। 

विशेष साधारणसभा प्रयोजनार्थ असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ असोज ७ गतेसम्म कायम सेयरधनीहरुमात्र विशेष सधारणसभामा सहभागी हुन पाउनेछन्।