काठमाण्डौ । आउँदो भदौ ७ गतेदेखि काठमाण्डौमा हुने भनिएको नाडा अटो शो स्थगित भएको छ। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको हो। सरकारले आगामी भदौ १४ गतेसम्म दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएपछि अटो शो स्थगित गर्ने निर्णय गरिएको नाडाले जनाएको छ। 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी नाडाका प्रतिनिधिमण्डलले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाइदिन आग्रह गरेको थियो। नाडा टिमले भदौ ७ गतेअघि नै प्रतिबन्ध हटाइदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको थियो।

सरकारले भने त्यस कार्यलाई निरन्तरता दिएपछि नाडाले शो नै स्थगित गर्ने निर्णयमा पुुगेको हो।

यसो त कोरोना संक्रमणका कारण अटो शो २ वर्षदेखि हुन सकेको थिएन। नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँचदिने अटो शो भृकुटीमण्डपमा आयोजना गर्ने तयारीमा थियो।