काठमाण्डौ । पहेँलो धातु सुनको भाउको उकालो यात्रा अझै रोकिएको छैन । पछिल्लो एकसाताको अवधिमा सुनको भाउ प्रति तोलामा १२०० रुपैयाँ बढिसकेको छ । 

पुस  २६  गते सुनको भाउ प्रति तोला ५६ हजार रुपैयाँ रहेकोमा मंगलबार ५७ हजार २ सय  पुगिसकेको छ । माघ १ गते सुनको भाउ प्रतितोला ५७ हजार रुपैयाँ रहेको थियो । यस्तै, पुस २७ गते ५६ हजार ४ सय र २८ गते ५६ हजार ६ सय रुपैयाँ रहेको थियो । 

सुनसँगै पछिल्लो दिनमा चाँदीको भाउ समेत बढिरहेको छ । पुस ३० गते चाँदीको भाउ प्रति तोला ७ सय ६० रुपैयाँ रहेको थियो । पुस २८ गते चाँदीको भाउ प्रतितोला ७ सय ५० रुपैयाँ रहेको थियो । मंगलबार चाँदीको भाउ समेत बढेर प्रतितोला ७६५ रुपैयाँको उचाईमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्दै गएकोले सुनको मूल्य अझै माथि जानसक्ने विश्लेषकहरुले बताउँदै आएका छन् । यस्तै, अमेरिकी अर्थतन्त्र कमजोर बनिरहेकोले लगानीकर्ताको डलरप्रतिको आकर्षण घटी सुनतर्फ बढ्ने समेत अपेक्षा गरिएको छ । अर्कोतर्फ, विश्वमै सुन आयातको सबैभन्दा ठूलो देश चीनले फेब्रुअरीमा नयाँ वर्ष मनाउँदैछ, यस्तो अवसरमा त्यहाँको सुनको उच्च माग हुने गरेको छ । यसले समेत भाउलाई केही माथि लैजानसक्ने विश्लेषण गरिएको छ ।