काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाको यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६२८.९० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५० लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ४०२४.५७ प्रतिशतले बढेको छ। गत वर्ष २७ लाख ४५ हजार रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिमा बढेर ११ करोड ३२ लाख रुपैयाँ भएको छ। 

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३४३.४० प्रतिशतले बढेर २६ करोड ९१ लाख रुपैयाँ बढी भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६ करोड ७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ४ अर्ब ५६ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ६३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ७७ करोड रुपैयाँ सापटी लिई २ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। 

संस्थाले रिजर्भको आकार ५३६१.५४ प्रतिशतले बढाएको छ। गत वर्ष ३३ लाख ५१ हजार रुपैयाँ रहेको रिभर्जमा यो वर्ष बढेर १८ करोड ३० लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.०६ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७९.१५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४६.६० रुपैयाँ रहेको छ।