काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा ८१.४७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । 

चौथो त्रैमास वितरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ८ करोड ३५ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ५ करोड ४२ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा २ करोड ७१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १ करोड ३३ लाख रुपैयाँमात्र रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ९८ लाख ७८ हजार रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ६३ लाख ६४ हजार रुपैयाँ रहेको थियो । 

यस अवधिमा संस्थाले ९७ करोड ३३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ७७ करोड ४९ लाख रुपैयाँ सापटी लिई १ अर्ब २ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ८ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ६ करोड २४ लाख रुपैयाँ थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ३८.३४ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष २ करोड ६० लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा ३ करोड ६० लाख रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी २५.७० रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ३२.३०, प्रतिसेयर नेटवर्थ रु १४१.८८ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु १७३७.७३ रहेको छ ।