-प्रकाश बञ्जारा
यो साता बिजशालाको समूह सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम्का पुग्यो । हरियालीबीच पशुपंक्षीको झुण्ड हामीलाई स्वागत गर्न ढोकामै आए र साथमा थिए फारामका संचालक आनन्द निरौला । 

वरदान एग्रीकल्चर नाम रहेको त्यो फाराम संचालन गरेको एक वर्ष मात्र भएको रहेछ । 

तीनवटा माछा पोखरीसहित लोकल कुखुरा, हास, टर्की, खसी बाख्रा, खाली रहेको भूभागमा तरकारी । साच्चिकै रमाइलो र राम्रो ब्यवस्थापन रहेछ । 

एकपटक पूरै फारामको अबलोकन गरेपछि आनन्दले बिजशालालार्इ आफ्नो अनुभव सुनाए । आनन्दका २ भाइ छोरा पनि फारममा उत्तिकै खट्दा रहेछन । 

उमेरले पाँच दशक कटेका आनन्द जोश र जाँगरमा भने निकै तगडा रहेछन । परम्परागत कृषि गर्दा गर्दै केही व्यवसायिक गर्ने सोच बनेपछि २ जनाको संयुक्त लगानीमा जन्मेको रहेछ वरदान एग्रीकल्चर । २ वटा माछा पोखरीबाट सुरु गरिएको कृषि अहिले आधा करोड भन्दा बढी लगानीमा चलिरहेको रहेछ । 

माछापछि बोइलर कुखुरा हालेको बताउने आनन्दले अहिले भने बोइलर कुखुरा पूरै बिस्थापित गरिसकेछन् । पर्याप्त साबधानी अपनाउँदा पनि बोइलरबाट आम्दानी गर्न नसकेको आनन्दको बुझाइ छ । 

पूर्ण रूपमा जानकार नभई व्यवसाय सुरु गर्दा घाटा खानुपर्ने ज्ञान पनि पाएका छन् आनन्दले अहिले । जस्तो कुखुरालाइ पानी शुद्धीकरण गरेर मात्र खुवाउनुपर्ने, अन्यथा रोग लाग्ने साथै बाख्रालाइ कोदाको नल खुवाउन नहुने, यदि त्यो खुवाए तुहाउने जस्ता समस्या हुने रहेछ । 

परीक्षणका लागि भनेर सुरु गरेको टर्कीले भने अहिले राम्रो आशा जगाइदिएको रहेछ । नजिकैको इटहरी बजारबाट २३ वटा चल्ला लिएर सुरु गरेको टर्कीले अहिले राम्रो आशा जगाएको रहेछ । जिउँदोमा प्रतिकिलो ८०० सम्म  बजारमूल्य भएको टर्की अहिले सबै बेच्न तयार भएका रहेछन् । ५०० रुपैयाँ प्रति गोटा पाइने टर्कीको चल्लाबाट राम्रो आम्दानीको आशा गर्न सकिने रहेछ । टर्कीले ६० प्रतिशतसम्म घाँस खाने भएको हुँदा कम्पाउण्डभित्रै पोथ्रा घाँस लगाएर चराउन पनि सकिने रहेछ । 

आफ्नो चल्ला उत्पादन गर्ने ह्यचरी मेसिन नहुदा  अन्डा दिएर एउटा बच्चा बनाए बापत ३० देखि ५० रुपैयाँ सम्म खर्च लाग्ने आनन्दले हामीलार्इ बताए । मासुको साथै टर्की अन्डाका लागि समेत पालन गर्न सकिन्छ । टर्किको अन्डा प्रतिगोटा १०० रुपैयाँको दरले बिक्री गर्न सकिने उनले सुनाए । 

माछा पालन भने पंक्षीभन्दा केही खर्चिलो हुने रहेछ । पोखरी खन्नु पर्ने, पोखरीमा नियमित रुपमा पानी लगाउनुपर्ने साथै माछाको भुरा, समय समयमा पोखरीको मर्मतको साथै माछालार्इ आबश्यक पर्ने दाना समेत ब्यबस्था गर्नु पर्छ । नेपाल सरकारले माछामा बेला बेलामा अनुदान दिने गरेको छ । हामीसँगको कुराकानीमा आनन्दले गत बर्ष रामधुनी नगरपालिकाका सबै मत्स्यपालक संघमार्फत भुरा, दाना र माछा पोखरीको लागि चाहिने चुनामा ५० प्रतिशात सम्म छुट दिएको साथै कमर्सियल पानी तान्ने पम्प समेत पचास प्रतिशत छुटमा उपलब्ध गराएको बताए ।

आनन्दको फरामको अर्को आकर्षण भनेको लोकल कुखुरा हो ।३०० को संख्यामा हालिएका कुखुराका चल्ला बोइलर भन्दा सजिलो र राम्रो भएको उनको बुझाइ छ। लोकललाइ केही घरको दाना र केही बोइलर कुखुरालाइ चाहिने दाना खुवाउँदा पनि हुने भएकोले सहज रुपमा मिठो आम्दानी गर्न सकिने उनको अनुभव रहेछ  । लोकल कुखुरामा बोइलरमा जस्तो रोग पनि नलाग्ने भएकोले यसबाट फाइदा हुने आनन्दले बताए । लोकल कुखुराको चल्ला प्रति गोटा ७० रुपैयाँमा किन्न सकिने रहेछ । पूर्वी नेपालको बजारमा लोकल कुखुराको मासु प्रतिकेजी रु. ७०० सम्ममा खरीदबिक्री हुने गरेको छ । 

आनन्दको फाराममा पूरै समय दिएर खटिने २ जना कामदार छन् । कुखुरा, टर्की र हासको सम्भावना राम्रो भएता पनि बजार पाउन भने गार्हो हुने गरेको फार्म संचालक निरौला बताउँछन् । लोकल बजारमा यस्ता कृषिजन्य उत्पादनको माग कम रहेको र टाढाका लागि बिचौलियाको भर पर्नु परेको छ । उपभोक्ताले ४०० रुपैयाँसम्म प्रतिकेजी तिर्नुपर्ने माछा बिचौलियालार्इ २५० रुपैयाँ प्रतिकेजीमै दिनुपर्ने गुनासो समेत आनन्दले पोखे । 

झुम्कामा उत्पादन भएका कुखुरा, टर्की, हाँस लागयतलाई आफैले धरान, इटहरी, बिराटनगरसम्म लानु परेको फार्म संचालकले बताए । 

आफ्नो उत्पादनको सन्तुष्टिसँगै नगरपालिकाले स्थानीय तहमा रहेका फार्महरुमा प्राबिधिक खटाएर व्यवसायीलाई समय समयमा तालिम, गोष्ठी तथा सम्भाब्य जोखिमका विषयमा जानकारी दिन सके कृषकको मनोबल बढ्नुका साथै उत्पादनमा वृद्धि गर्न सकिने आनन्द बताउँछन्। 

योसँगै समय समयमा नगरपालिकाले दिने गरेको राहत उचित फर्मसम्म नपुगी सीमित पहुँचवालाकोमा मात्र जाने गरेको उनको गुनासो थियो । 

कत्तिले त अनुदान मात्र लिनको लागि देखावटी कृषि फर्म दर्ता गर्ने गरेको आनन्दले हामीलाई बताए । निकट भबिस्यमै केही बगुर हाल्नका लागि खोर समेत बनाइसकेका आनन्दले चाँडै नै टर्कीको संख्या २०० बनाउन लागेको सुनाए । 

आनन्दको फार्ममा कुखुरा, हास, टर्की, बाख्रा,बङुरलाई फरक फरक खोर  बनाइएको छ भने पोखरीको डिलमा बोडी, लौका लगायतका तरकारी समेत लगाइएको छ ।