काठमाण्डौ । पहिलो लहरको कोरोना महामारीबीच वाणिज्य बैंकको व्यापार निकै सुस्ताएको थियो। विस्तार लयमा फर्किन लागेकै बेला पुनः दोस्रो लहर गाँज्न थालेपछि वाणिज्य बैंकहरु व्यापार फेरि प्रभावित बन्न थालेको छ। 

पहिलो लहरपछि विस्तार उस्किँदै गर्दा वाणिज्य बैंकहरु निक्षेप संकलनसँगै ऋण लगानीलाई आक्रामक बनाएका थिए। जसका कारण पछिल्लो समय तरलतामा दबाबसमेत सिर्जना भइरहेको छ। तर नेपाल राष्ट्र बैंकले तरलता सहज बन्दै जाने अहिलेको परिस्थितमा ब्याजदर तत्काल नबढ्ने जनाएको छ। 

कर्जाको ब्याजदर विशेषगरी बैंकहरुको आधारदरमा भर पर्छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको आधारदर ८ प्रतिशतमुनि नै रहेको छ। 

अर्कोतर निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) ४.४ प्रतिशतभन्दा बढी हुन नहुने हुँदा चाहेर पनि ब्याजदर माथि लैजाने अवस्था छैन। त्यसैले कर्जाको ब्याजदर वाणिज्य बैंकहरुमा तुलनात्मक रुपमा गत वर्षको तुलनामा यो वर्ष सस्तो नै देखिन्छ। 

देशभर २७ वटा वाणिज्य बैंकहरु छन्। तीमध्ये सबै कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको देखिएको छ। यो बैंकको आधारदर ५.३३ प्रतिशतमात्र रहेको छ। गत वर्ष यो बैंकको आधारदर ७.२७ प्रतिशत रहेको थियो। 

त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको आधारदर सबैभन्दा कम ५.५ प्रतिशत रहेको छ। गत वर्षको राष्ट्रिय वाणिज्य बैंकको ६.७२ प्रतिशत आधारदर रहेको थियो। 

त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल बैंकको आधारदर पनि क्रमशः ५.९५ र ५.९८ प्रतिशत रहेको छ। गत वर्ष यी दुवै बैंकको आधारदर क्रमशः ८.५३ प्रतिशत र ७.४९ प्रतिशत रहेको थियो। 

वाणिज्य बैंकमध्ये ८ वटाको आधारदर ७ प्रतिशतमुनि रहेको छ भने १५ वटाको ८ प्रतिशतमुनि रहेको छ। 

चालु आर्थिक वर्षको सर्वाधिक आधारदर रहेको वाणिज्य बैंकमा सिद्धिल बैंक रहेको छ। यो बैंकको आधारदर ७.८२ प्रतिशत रहेको छ। 

बैंकहरुको आधारदर घट्दा विशेषगरी ऋणीका लागि ब्याजदर सस्तो पर्न जान्छ । बैंकहरुबाट ऋण लिँदा आधारदरका आधार कुन बैंकबाट सस्तोमा पाइन्छ भनेर सहजै अनुमान लगाउन सकिन्छ। 

तालिकामा हेरौँ कुन बैंकको आधारदर कति छ–