काठमाण्डौ । गत आर्थिक वर्ष २०७५/७६ मा २८ वटा वाणिज्य बैंकले अघिल्लो वर्षको तुलनामा २४.५८ प्रतिशतले खुद नाफा बढाउन सफल भएका छन् ।

समीक्षा अवधिको सार्वजनिक वित्तीय विवरणअनुसार २८ वटा वाणिज्य बैंकले ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सोही अवधिमा अघिल्लो वर्ष वाणिज्य बैंकहरुको खुद नाफा ५२.५ अर्ब रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा तीन बैंकको नाफा घटेको छ भने २५ बैंकले नाफा बढाउन सफल भएका छन् । त्यस्तै समीक्षा अवधिमा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा गर्ने पहिलो पाँच बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नबिल बैंक नेपाल इन्भेस्टमेन्ट बैंक र एनआईसी एसिया बैंक छन्। यी बैंकले क्रमशः ५ अर्ब ३३ करोड रुपैयाँ, ४ अर्ब ३५ करोड रुपैयाँ, ४ अर्ब २९ करोड रुपैयाँ, ३ अर्ब ४२ करोड रुपैयाँ र ३ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, जनता बैंक र सिटिजन्स बैंक छन्। यी बैंकले क्रमशः ७६ करोड ४ लाख रुपैयाँ, ८६ करोड ८ लाख रुपैयाँ, १ अर्ब ३३ करोड रुपैयाँ, १ अर्ब ३४ करोड रुपैयाँ र १ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका छन् ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नेपाल बैंकको नाफा १८.७७ प्रतिशतले घटेर २ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा बढेपछि नाफा ६.६६ प्रतिशतले घटेर समीक्षा अवधिमा ३ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन भएको छ । सेन्चुरी कमर्सियल बैंकको नाफा पनि अघिल्लो वर्षको तुलनामा ५.६४ प्रतिशतले घटेर ८६ करोड ८ लाख रुपैयाँमा झरेको छ ।

गत वर्ष राष्ट्र बैंकले निक्षेप र कर्जामा औसत भारित ब्याजदर अन्तर (स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तर वाणिज्य बैंकले समीक्षा अवधिमा उच्च स्प्रेडदर ५.७ प्रतिशत राखेर नाफा बढाएको देखिन्छ । वाणिज्य बैंकहरू र राष्ट्र बैंकबीच स्प्रेडदर गणना विधिमा मतभिन्नताका कारण राष्ट्र बैंकले गत आर्थिक वर्षमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ल्याएको स्प्रेड दर गणनाको व्यवस्था कार्यान्वयन गर्न सकेन ।

यसैगरी समीक्षा अवधिमा २८ वटा वाणिज्य बैंकहरुले औसतमा १८.९२ प्रतिशतसम्म लाभांश वितरण गर्ने देखिएको छ ।

चौथो त्रैमासिक वित्तीण विवरणअनुसार सबैभन्दा बढी ४० प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राष्ट्रिय वाणिज्य बैंकले बनाएको छ । त्यस्तै सबैभन्दा कम ६ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता सेन्चुरी कमर्सियल बैंकको देखिएको छ ।

सम्भावित लाभांश क्षमता कुन बैंकको कति ?