काठमाण्डौ । नेपाली सेयर बजार अहिले नयाँ–नयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको छ। यतिबेला लगानीकर्ताहरु पनि हौसिएका छन्।

लगानीका अन्य क्षेत्रभन्दा अहिले सेयर बजारमा माहोल सिर्जना भइरहेको छ। त्यसैले लगानीकर्ताहरुले आम्दानीको राम्रो स्रोतका रुपमा अहिले सेयर कारोबारलाई रोज्न थालेका छन्।

कतिपय यतिबेला आफूसँग भएका पैसा र बैंकबाट समेत ऋण निकालेर सेयरमा लगानी बढाउँदै लगेका छन्। बैंकहरुले अन्य क्षेत्रमा भन्दा सेयर बजारमा कर्जा बढाएका छन्।

यही सेरोफेरोमा आज माघ १ बाट विभिन्न वाणिज्य बैंकहरुले सेयर धितो कर्जासँगै अन्य कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। आउनुहोस् हेरौँ कुन बैंकले कति ब्याजदरमा सेयर धितो कर्जा प्रभाव गर्ने भएका छन्। 

वाणिज्य बैंकको आधार दर ५.७४ प्रतिशत रहेको छ। यो बैंकले आधार दरमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतमात्र प्रिमियर जोडर यस्तो कर्जा प्रवाह गर्ने भएको छ। आज वाणिज्य बैंकबाट न्यूनतम ७.२४ देखि अधिकतम ८.७४ प्रतिशतसम्म ब्याजदरमा यो कर्जा पाइने भएको छ। 

प्रभु बैंकको आधार दर ७.३९ प्रतिशत रहेको छ । यो बैंकले पनि आधार दरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम जोडर ११.३९ प्रतिशतसम्मको ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गर्ने भएको छ। 

हिमालयन बैंकले पनि आफ्नो आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडर ग्राहकलाई सेयर धितो कर्जा प्रवाह गर्ने जनाएको छ। 

यसैगरी एनसीसी बैंकले अधिकतम १३.६३ प्रतिशत ब्याजमा यो कर्जा प्रवाह गर्ने भएको छ। यो बैंकको आधार दर ८.६३ प्रतिशत रहेको छ। 

नेपाल बंगलादेश बैंकले पनि आफ्नो प्रिमियम दरमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडर सेयर धिर्ता कर्जा उपलब्ध गराउने भएको छ।

एभरेस्ट बैंकले भने आधार दरमा न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडर यो कर्जा प्रवाह गर्ने भएको छ। यो बैंकको आधार दर ६.५ प्रतिशतमात्र रहेको छ। 

सनराइज बैंकले पनि अधिकतम १३.२४ प्रतिशतसम्म यस्तो कर्जामा ब्याज लिने भएको छ। यो बैंकको आधार दर ७.२४ प्रतिशतमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम जोड्ने भएको हो। 

उता कृषि विकास बैंकले अधिकतम ५ प्रतिशतसम्मको प्रिमियममा सेयर धिर्ता कर्जा उपलब्ध गराउने भएको छ। यो बैंकको आधार दर ८.४८ प्रतिशत रहेको छ। एनएमबी बैंकले पनि अधिकतम ५ प्रतिशतसम्मको प्रिमियम दरमा सेयर धिर्ता कर्जा प्रवाह गर्ने भएको छ।

बैंक अफ काठमाण्डूले अधिकतम ५ प्रतिशत प्रिमियम दरमै सेयर धिर्ता कर्जा उपलब्ध गराइने जनाएको छ। यो बैंकको आधार दर ७.६७ प्रतिशत रहेको छ।