काठमाण्डौ । अधिकांश वाणिज्य बैंकहरुले भोलि (जेठ १) गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। 

वाणिज्य बैंकहरुका आधार अझै पनि ८ प्रतिशतमुनि रहेका छन्। यो हुनु भनेको कर्जा लिनेहरुलाई ब्याजदर सस्तो पर्नु नै हो। 

कोरोना कहरका कारण अहिले लगानीका अन्य क्षेत्र प्रायः ठप्प छ। यो बेला सेयर बजार भने खुलै छ। जसका कारण अधिकांश लगानीकर्ताहरु सेयर बजारमा खुलेर कारोबार गरिरहेका छन्। 

सेयर बजारमा सेयर धितो कर्जाको महत्व पनि उत्तिकै रहेको हुन्छ। कर्जाको ब्याजदर न्यून रहँदा बजारमा सकारात्मक महौल नै सिर्जना हुने गरेको छ।

त्यसैले यतिबेला लगानीकर्ता मुख्य चासोको विषयमा बैंकहरुबाट सेयर धितो कर्जा कतिसम्म लिन पाइन्छ भन्ने नै हुन्छ। 

आज ब्याजदर सार्वजनिक गरेकामध्ये सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकको देखिएको छ। यो बैंकको आधार दर ५.५ प्रतिशत रहेको छ भने १ देखि ३ प्रतिशतसम्म प्रिमियम जोडर सेयर धितो कर्जा प्रवाह गर्ने देखिएको छ। यो हिसाबले लगानीकर्ताहरुले राष्ट्रिय वाणिज्य बैंकबाट न्यूनतम ६.५ प्रतिशत अधिकतम ८.५ प्रतिशतसम्म यो कर्जा सुविधा लिन सक्नेछन्। 

यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर पनि ५.३३ प्रतिशतमात्र रहेको छ। यो बैंकले सेयर धितो कर्जा अधिकतममा ७.५ देखि ८ प्रतिशतसम्म यस्तो कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ। 

एभरेष्ट बैंकले पनि सेयर धितोकर्जा ८.९९ देखि ११.२४ प्रतिशतसम्म उपलब्ध गराउने देखिएको छ। यो बैंकको आधार दर ६.२४ प्रतिशत रहेको छ। 

यस्तै मेगा बैंकको आधार दर ७.५९ प्रतिशत रहेको छ। यो बैंकले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडर सेयर धितो कर्जा प्रवाह गर्ने देखिन्छ। 

यसैगरी हिमालयन, प्रभु, एनसीसी, बैंक अफ काठमाण्डू र सेन्चुरी कमर्सियल बैंकले पनि आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडर सेयर धितो कर्जा प्रवाह गर्ने जनाएका छन्। यी बैंकहरुका क्रमशः आधारदर ६.७५, ७.०४, ७.४१, ७.६ र ७.७ प्रतिशत आधार दर छन्। 

नबिल, कुमारी र माछापुच्छ्रे बैंकले पनि अधिकतम ७ प्रतिशतसम्म प्रिमिय जोडेर सेयर धितो कर्जा प्रवाह गर्ने जनाएको छ। यी बैंकका आधार ६.१८, ७.६३ र ७ प्रतिशत रहेका छन्। 

सनराइज बैंकले भने अधिकतम ६ प्रतिशतसम्म प्रिमियम जोडेर सेयर धितो कर्जा उपलब्ध गराउने भएको छ। यो बैंकको आधार दर ७.२३ प्रतिशत रहेको छ।