काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकहरुले प्रकाशित गरिसकेका छन् । 

तरलताको चरम संकट, अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दवाब लगायतका कारण अन्यौलमै बितेको समीक्षा वर्षमा बैंकहरुलाई राष्ट्रबैंकको केही नियामकीय व्यवस्थाले थप अप्ठ्यारोमा पार्यो । यी सबै प्रतिकूलताका बाबजुद वाणिज्य बैंकहरुले आफ्नो बुद्धिमता प्रयोग गरी लगानीकर्तालाई निराश हुने अवस्था बनाएनन् । अधिकांशको नाफा बढेको देखिएको छ भने लाभांश क्षमता पनि अत्यासलाग्दो गरी घटेको देखिन्न । 

अस्तित्वमा रहेका वाणिज्य बैंकमध्ये केही मर्जरमा जाने प्रक्रियामा छन्। 

अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका वाणिज्य बैंकहरुमध्ये कसले कति वितरणयोग्य मुनाफा आर्जन गरी कति लाभांश क्षमता बनाए भन्ने विषय र लगानीको प्रतिफलको भरपर्दो मापक रिटर्न अन इक्वीटीका आधारमा कुन बैंकको अवस्था कस्तो बन्यो भन्ने विषयलाई यहाँ केलाउने प्रयास गरिएको छ । 

लाभांश क्षमता
लाभांश क्षमताको आधारमा हेर्दा एभरेष्ट बैंक सबैभन्दा अगाडि देखिएको छ । यो बैंकले ४१ प्रतिशतको लाभांश क्षमता बनाएको छ । 

यस्तै, नवीलको लाभांश क्षमता ४० प्रतिशत देखिएको छ भने गत वर्ष लाभांश वितरण गर्न नपाएको एनआइसी एशिया बैंकको क्षमता ३३ प्रतिशत बनेको छ । लाभांश क्षमता बढी बनाउने बैंकको टप फाइभको सूचीमा ३१ प्रतिशतसहित स्ट्याण्डर्ड चार्टर्ड बैंक र २५ प्रतिशतसहित नेपाल बैंक समेटिएका छन् । 

सबैभन्दा कम लाभांश क्षमता हुने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट र मेगाको मर्जरपछि बन्ने बैंक देखिएको छ । इन्भेष्टमेन्ट र मेगाको मर्जरपछि बन्ने बैंकको लाभांश क्षमता ८ प्रतिशत मात्र देखिएको छ । यस्तै, प्रभू र सेञ्चुरी कमर्सियल बैंक मर्जरपछि बन्ने बैंकको लाभांश क्षमता पनि ११ प्रतिशत मात्र देखिएको छ । 

अरु कुन बैंकको लाभांश क्षमता कति बन्यो ? टेबल हेर्नुहोस्:

रिटर्न अन इक्वीटी
सेयरधनीहरुले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अफ इक्विटी (आरओई) भनिन्छ । आरओई बैंकले कति नाफा कमाए वा कमाएनन् भन्ने विषय मापन गर्ने बलियो र भरपर्दो सूचक हो । तर, नेपालका सेयर बजारका लगानीकर्ताको ध्यान बैंकहरुको नाफामा मात्र केन्द्रीत हुन्छ । कुन बैंकको आरओई कति छ भन्ने हेरेर लगानी गर्नेहरु निकै कम मात्र छन् । 

बैंकहरुले अर्बौं रुपैयाँ नाफा कमाएको वित्तीय विवरणमा नाफाको अंकतर्फ मात्र लगानीकर्ताको ध्यान जाने गरेको छ । आरओइका आधारमा मात्रै बैंकको नाफा बढी भयो या भएन भन्न मिल्छ । 

पछिल्लो समयमा वाणिज्य बैंकमा लगानी गर्ने लगानीकर्ताको औसत प्रतिफल निरन्तर घटिरहेको देखिन्छ । औसत आरओई १५ प्रतिशतभन्दा तल छ, यो भनेको बैंकका लगानीकर्ताहरुका आगामी दिन सुखद नहुन सक्छन् भन्ने संकेत पनि हो । 

सामान्यतया कुनै पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले त्यसको प्रतिफल १५ देखि २० प्रतिशतसम्म पाउने अपेक्षामा लगानी गरेका हुन्छन् । सोही अनुपातमा आरओई भएको बैंकलाई लगानीका लागि राम्रो स्क्रीप्ट मानिन्छ । 

तर, आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको रिपोर्ट हेर्दा धेरै बैंकको आरओई १५ प्रतिशतभन्दा कम दखिन्छ । ४ वटा बैंकको त १० प्रतिशतभन्दा पनि कम छ । एउटा बैंकको आरओई मात्रै १५ प्रतिशतभन्दा बढी छ । 

कुनै बैंकको आरओई १० प्रतिशत छ भन्नुको अर्थ सो बैंकमा १०० लगानी गर्दा १० रुपैयाँ मात्र प्रतिफल आउँछ भन्ने हो । 

आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको रिपोर्टका आधारमा हेर्दा लगानीका लागि सबैभन्दा उपयुक्त वाणिज्य बैंकमा एनआइसी एशिया देखिएको छ । यो मात्र एउटा यस्तो बैंक हो जसको आरओई १५ प्रतिशतभन्दा माथि अर्थात १८.३० प्रतिशत रहेको छ । 

आरओईको हिसाबले हेर्दा टप फाइभको सूचीमा एनआइसी एशियापछि क्रमशः सिद्धार्थ बैंक (१४.८१ प्रतिशत), माछापुच्छ्रे बैंक (१४.७७ प्रतिशत), एनएमबी बैंक (१३.८८ प्रतिशत), सानिमा (१३.७१ प्रतिशत) रहेका छन् । 

आरओई सबैभन्दा कमजोर रहेका बैंकहरुमा नेपाल बैंक(८.४८ प्रतिशत), कृषि विकास बैंक(८.५२ प्रतिशत), लक्ष्मी बैंक(९.५९ प्रतिशत) र एसबीआई बैंक(९.६८ प्रतिशत) रहेका छन् । 

बाँकी बैंकको आरओई र त्यसआधारमा उनीहरुको पोजिसन टेबलमा हेर्नुहोस्: