काठमाण्डौ । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणा अब कुमारी बैंकलाई मुलुकै नम्बर १ वाणिज्य बैंक बनाउने लक्ष्य रहेको बताएका छन्।

मर्जरपछि कुमारी र एनसीसी बैंकको आजबाट एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको घोषणा कार्यक्रममा अध्यक्ष राणाले लक्ष्य राखिएको जानकारी गराएका हुन्। ‘अबको ३–४ वर्षमा हामी मुलुककै नम्बर १ वाणिज्य बैंक बन्न सक्छौँ’, उनले भने। 

पुँजी र शाखा सञ्जालको हिसाबले कुमारी बैंक वाणिज्य बैंकहरुमा ४ स्थानमा रहेर अगाडि बढिरहेका पनि राणाले सुनाए। ‘सबै साथीहरुको मनोलब र टिम स्प्रिटले काम गर्छ भन्नेमा म विश्वस्त छु’, उनले भने, ‘यसरी नै अगाडि बढे लगानीकर्ता उचित प्रतिफल पाउनेछन् र अर्थतन्त्रमा टेवा पुर्याउन सक्छौँ।’ 

ठूला पुँजी भएका बैंकहरुले पनि मर्जरलाई एउटा अवसरका रुपमा लिएर अगाडि बढेका उल्लेख गर्दै राणाले भने, ‘हामी पनि त्यही परिवेशमा तरलता संकट र आर्थिक संकुचनको अवस्थामा लगानीकर्ता राम्रो प्रतिफल दिन र अर्थतन्त्रलाई सबल बनाउ मर्जर जाने निर्णय गरेका हौँ।’ 

प्रारम्भिक सम्झौताको ६५ दिनमै मर्जर पूरा गर्न सफल भएकोमा राणाले सबै पक्षलाई धन्यावाद दिए। ‘आजबाट एकीकृत कारोबार पनि सुरु भएको छ’, उनले भने, ‘मर्जर सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई म धन्यवाद दिन चाहन्छु।’ 

मर्जरपछि अब के– के अवसर छन् भन्ने विषयको विश्लेषण गर्नुपर्ने राणाले बताए। ‘एकीकृत करोबारको पछि ठूलो चुनौती भनेको व्यवस्थापनलाई कन्सुलेट गर्ने रहेको छ’, उनले भने, ‘दुई संस्थाका कर्मचारीलाई एकीकृत गर्ने र व्यवसायलाई सुदृढीकरण गर्ने चुनौती पनि छ र यो अवसर पनि हो।’