काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जले कुमारी बैंकले प्राप्ति गर्न लागेको देवः विकास बैंकको सेयर कारोबार बिहीबारदेखि रोक्का गरेको छ ।

कुमारी र देवः विकास बैंकबीच प्राप्ति प्रक्रियाका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी आजै प्राप्त भएकोले देवः विकास बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम उक्त बैंकको सेयर कारोबार रोक्न गरिएको स्पष्ट पारेको छ ।

नेप्सेलाई प्राप्ति पत्रअनुसार दुवै बैंक प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

पछिल्लो समय दुवै बैंकका संचालकहरुबीच चलेको लामो छलफलपछि यस्तो सहमति भएको हो । 

कुमारी बैंकस्थित उच्च स्रोतका अनुसार देव विकास बैंकलाई १००:८५ हाराहारीको सेयर स्वाप रेसियोमा अक्वायर गर्ने सहमति बनेको हो । डिडिए गर्ने क्रममा यो स्वापमा केही तलमाथि हुनसक्नेछ।

विगत लामो समयदेखि देवः विकास बैंकलाई प्राप्तिका लागि विभिन्न वाणिज्य बैंकहरुले छलफललाई अगाडि बढाएका थिए । तर, सो क्रममा सेयर स्वापमा सहमति हुन सकेको थिएन । 

हाल कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको देवः विकास बैंकको पूँजी भने ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ । 

सहमतिअनुसार १००ः८५ सेयर स्वापमा देवः गाभिएपछि कुमारी बैंकको चुक्तापूँजी बढेर १२ अर्ब बढी पुग्नेछ । 

दोश्रो बजारमा कुमारी बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १९६ रुपैयाँ रहेको छ भने देवः विकास बैंकको १५५ रुपैयाँ रहेको छ । नेप्सेमा देवः विकास बैंकको २ करोड ६७ लाख ३० हजार ३२८ कित्ता सेयर सूचीकृत छ ।