काठमाण्डौ । कुमारी बैंक लिमीटेडले पहिलोपटक अर्ब क्लबमा  प्रवेश गरेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब खूद नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकको नाफा ७० करोडमा सीमित थियो । यो बैंकले पनि संभावित जोखिम व्यवस्थापन कोषबाट २२ करोड बढी राइटब्याक गरी नाफा १ अर्ब कटाएको हो । 

बैंकले ८० करोडमा सीमित संचालन मुनाफामा भारी वृद्धि गरी १ अर्ब ३० करोडको उचाई चुमाएको छ । यस्तै, व्यवसाय बिस्तारमा ध्यान दिएका कारण १ अर्ब २९ करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर २ अर्ब माथि पुर्याएको छ । 

समीक्षा अवधिमा कुमारीले ब्याज आम्दानीबाट मात्रै ६ अर्ब ७७ करोड आर्जन गरेको देखिएको छ । तर, ४ अर्ब ७७ करोड ब्याज खर्च नै रहेकोले नाफा अझै बढ्ने संभावना भने टर्यो । 

समीक्षा अवधिमा बैंकले ६९ अर्ब ६५ करोड निक्षेप संकलन गरी ६२ अर्ब ७४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५२ अर्ब ७ करोड निक्षेप संकलन गरी ४५ अर्ब  १९ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले २ अर्ब ११ करोडमा सीमित रिजर्बकोषलाई बढाएर ३ अर्ब १६ करोडको उचाई चुमाएको छ भने १.८६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई समेत घटाएर १.०१ प्रतिशतमा झारेको छ । 

यो अवधिमा बैंकको कस्ट अफ फण्ड ८.२५ प्रतिशत, सीडी रेसियो ७६.५४ प्रतिशत,  बेस रेट ११.६० प्रतिशत, इक्वीटीमा प्रतिफल ९.७० प्रतिशत र सम्पत्तिमा प्रतिफल १.२० प्रतिशत कायम भएको छ । 

समीक्षा अवधिमा कुमारी बैंकको प्रतिसेयर आम्दानी १३.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४४.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.२३ गुणा कायम भएको छ ।