काठमाण्डौ । कुमारी बैंक लिमिटेड देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया टुंग्याउन विशेष साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालन समितिको हिजो बसेको बैठकले आउँदो जेठ १९ गते सोमबार काठमाण्डौको नक्सालस्थित आफ्नै केन्द्रीय कार्यालय सभा डाकेको हो। सभामा मुख्य अजेन्डाका रुपमा राखिने देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित हुनेछ। त्यस्तै देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए रिपोर्ट) र देवः विकास बैंकलाई कुमारी बैंकले प्राप्ति गर्ने सम्बन्धमा भएको अन्तिम सम्झौता पारित गर्नेछ।

सभामा प्राप्ति प्रक्रियामा डीडीए रिपोर्टका आधारमा देवः विकास बैंकको १ कित्ता सेयरबराबर कुमार बैंकको ०.८६ कित्ता सेयर (सेयर स्वाप रेसियो) कायम गर्ने प्रस्ताव पनि पारित हुनेछ।

विशेष साधारणसभाका लागि बैंकले आउँदो जेठ ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन्।