काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रिया थालनीको मुख्य अजेन्डासहित कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको गत मंसिर ५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २९ गते सोमबार काठमाण्डौको टंगालस्थित बैंकको रजिस्टर्ड कार्यालयमा भर्चुअल (जुम) मार्फत आयोजना गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश पारित र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने मुख्य अजेन्डाहले प्रवेश पाउने छन्। 

सभाले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र पुँजीगत जगेडा कोषसमेतबाट प्रस्तावित कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १०.८५ बोनस सेयर र ३.१५ नगद लाभांश (लाभांश कर) सहित रहेका छन्।

यसैगरी सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर तथा प्राप्ति (एक्विजिसन) गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्यालय अनुमोदन हुन, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिका सन्दर्भमा डीडीए नियुक्ति गर्नलगायत सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले यही मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।