काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ। 

मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो। लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ। 

लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन्। यसका साथै लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ। 

नेपालीले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सयभन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ। ‘मेगा रेमिट’ सेवालाई संसारका विभिन्न देशहरुमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो। मेगा बैंकले यसअघि नै कुवेतकै अल मुल्ला एक्सचेन्जबाट पनि रकम पठाउने ब्यवस्था मिलाइसकेको छ।