फलेवास (पर्वत) । सदरमुकाम कुश्माबजारमा नौ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ ।

स्थानीय व्यवसायी विषयमकुमार श्रेष्ठले छ करोडको जग्गा र तीन करोडको लागतमा सुविधा सम्पन्न होटल बेन्जु सञ्चालनमा ल्याएका हुन् । सुविधा सम्पन्न होटल नहुँदा धौलागिरि क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न नसकेको अवस्थालाई मध्यनजर गर्दै उनले होटल सञ्चालनमा ल्याएका हुन् ।

होटलका एसी जडित कोठाका लागि एक हजार ५०० र अन्य कोठाका लागि एक हजार भाडा तोकिएको छ । धौलागिरि अञ्चलमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको श्रेष्ठको भनाइ छ ।

विगतमा पर्वत, बागलुङ र म्याग्दी जिल्लामा आएका पर्यटक सुविधा सम्पन्न होटल नभएकै कारण पोखरा फर्कनुपर्ने अवस्था थियो ।

सदरमुकाम कुश्माबजार नजिकै रहेका मोदीखोला र कालीगण्डकी नदीको माथि निर्माण भएका झोलुङ्गे पुल, कालीगण्डकी माथि बन्न लागेको बन्जीजम्पसहितको पुल, यान्त्रिक पुल, कुश्माको गुप्तेश्वर र कटुवाचौपारीको अलपेश्वर गुफा, पवित्र मोदीबेनी धाम, दुर्लुङकोट, ज्ञादीको पाटेश्वरी मन्दिरका साथै पञ्चासे, डहरे देउराली, अन्धाअन्धी, सहस्रधाराका साथै पवित्र कालीगण्डकी नदीको दर्शन एवम् प्रवद्र्धनका लागि प्याकेज कार्यक्रम नै सञ्चालन गरिने श्रेष्ठले बताए ।

होटलबाट भएको मुनाफाको १० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उनले बताए । रासस