काठमाण्डौ । माछापुच्छ्रे बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा मंसिर ४ गते बिहिबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । 

संचालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी कायम गरी साधारणसभा सम्पन्न भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

वार्षिक साधारणसभाले आ.व. २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीको सञ्चित मुनाफा रु १ करोड ३६ लाख ३९ हजार मध्येबाट चुक्तापूँजीको ६.४ प्रतिशतका दरले हुन आउने रकम रु १ करोड २८ लाख नगद लाभांश वितरण गर्ने सामान्य प्रस्ताव तथा कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स् लिमिटेडलाई माछापुच्छ्रे क्यापिटल लिमिटेडमा गाभ्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । मर्जर पश्चात कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड कायम हुनेछ । 

नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्श सेवाको लागि इजाजतप्राप्त गरेको यस कम्पनीले मर्जर पश्चात थप सबल भै आगामी दिनमा भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी, म्यूच्यअल फण्ड, निक्षेप सदस्य सेवा लगायतका अन्य सेवाहरु थप गर्ने र सरोकारवाला सबैलाई विस्तारित सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ ।