काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको त्रासमा परेर जनजीवन आतकिंत भइरहेको बेला कृत्रिम अभाव सिर्जना र कालोबजारी नगर्न उद्योगी र व्यापारीहरुलाई आह्वान गरेको छ । 

शुक्रबार एक विज्ञप्ति जारी गरी महासंघले अत्यावश्यक वस्तुहरू जस्तै मास्क, सेनेटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गर्न आह्वान गरेको हो । 

महासंघले यी विषयमा गडबड नगरी आम जनतालाई सेवा दिन आफ्ना सदस्य संघ/संस्था, उद्योग प्रतिष्ठानहरू÷उद्यमी व्यवसायीहरू सबैमा आह्वान गरेको छ । 

‘अत्यन्त कठिन परिस्थितिमा पनि जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको निजी क्षेत्रको विगत समेतलाई मध्यनजर गर्दै साथै महासंघ आफ्ना सदस्य संघ/संस्थाहरूलाई आफू मातहतका उद्योग प्रतिष्ठानहरूमा समेत सोही अनुसारले अनुरोध गर्न आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।  

विश्वभर नै उद्योग व्यवसाय खासगरी सेवा क्षेत्रका पर्यटन उद्योग, औषधिजन्य उद्योगहरूमा यसको असर पर्ने र विस्तारै अन्य उद्योगहरूमा समेत गम्भीर समस्या पर्दै जाने र त्यसको प्रभाव नेपालमा समेत पर्ने महासंघको अनुमान छ । 

‘यस कठिन परिस्थितिमा हामी सबै उद्योग व्यवसाय/उद्योगी व्यवसायी क्षेत्रले आ–आफ्नो ठाउबाट भोलि आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आ–आफ्नो भूमिका प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने वेला आएको तर्फ नेपाल उद्योग वाणिज्य महासंघ सम्बन्धित सबै उद्योगी व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण गराउदछ ।’विज्ञप्तिमा भनिएको छ ।