काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कृषकलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ। 

नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीब्रताका साथ विस्तार गरिरहेको हो। यसै क्रममा कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्न मेगा बैंकले ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ। सम्झौता अनुसार मेगा बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफुल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ। यसका साथै सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोडको ब्यवस्था गरिनेछ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफुल खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५ सय रुपैंयासम्म छुटको ब्यवस्था गरिएको मेगा बैंकले जनाएको छ। 

यससम्बन्धी सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरेका छन्। 

केही दिनअघि मात्रै मेगा बैंकले काठमाण्डौ उपत्यका र आसपासका गोलभेँडा उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरेको थियो। 

नेपालको आधारभूत तहमा रहेका कृषकलाई आधुनिक बैंकिङतर्फ आकर्षित बनाउन सके बैंकिङ सेवाको विस्तारले पनि तीव्रता पाउने मेगा बैंकको विश्वास छ।