काठमाण्डौ । नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) बीच गत असोजमा भएको सम्झौताबमोजिम ६ वर्षका लागि सञ्चालन हुने कृषिको समावेशी रुपान्तरणका लागि मूल्य शृंखला परियोजना कार्यक्रमको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि बैकुण्ठ अधिकारीले तिलोत्तमास्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा फागुन २२ गते एक कार्यक्रमबीच विधिवत शुभारम्भ गरेका छन्। 

हालैका दिनमा नेपाल सरकारले कृषि लगानीका लागि अगुवा बैंकका रुपमा परिभाषित गरेको, किसान कार्ड/एप्स जारी गरिरहेको, कृषि बन्ड जारी गरी स्रोत संकलनमार्फत कृषि क्षेत्रमा वित्तीय सहयोग पुर्याउँदै आएको कृषि विकास बैंकलाई उक्त कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारमार्फत आईएफएडीबाट आगामी ६ वर्षभित्र लगानी गर्ने गरी करिब ८० मिलियन अमेरिकी डलर सहुलियत वित्तीय ऋण सहयोग उपलब्ध हुनेछ। 

यस भिटा कार्यक्रम लुम्बिनी, बागमती र मधेश प्रदेशका २८ जिल्लाहरुमा १२ वटा बाली तथा पशु वस्तुको मूल्य शृंखला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायका रुपमा तोकिएको छ। 

उक्त अवसरमा बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले भिटा परियोजनाको संक्षिप्त जानकारी प्रस्तुत गर्दै यस कार्यक्रमले बजार मागमा आधारित कृषि बस्तुको व्यावसायीकरणमार्फत साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी सिर्जना हुने तथा कृषिको व्यावसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा रहेको र प्रत्यक्ष रूपमा देशभरिका १ लाख २० हजार साना कृषक परिवार विशेषगरी महिला, युवा, दलित, जनजातिलगायत पिछडिएका वर्गहरुको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकोपार्जनमा सुधार गर्ने बताए। उनले कार्यक्रमको तेस्रो पूर्वाधार सम्भाग कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशले सञ्चालन गर्नेसमेत जानकारी गराए। 

कार्यक्रमको शुभारम्भ गर्दै कृषि सचिव अधिकारीले परियोजना कार्यान्वयनमा मन्त्रालयको भूमिका प्रस्ट पार्दै कार्यक्रम कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि विकास बैंक किसानबाटै टाढा भएको हो कि भन्ने भान भएको वर्तमान परिवेशमा यस परियोजनाका माध्यमबाट फेरि किसानका माझमा आफ्नो पहिचानलाई अझ प्रस्ट पार्नेछ भन्ने विश्वास गर्दै परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामनासमेत व्यक्त गरे।

दातृ निकाय कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) का तर्फबाट आवासीय निर्देशक च्यकजबल ऋययपभ ले आईएफएडी र नेपाल सरकारले विगत ४ दशकदेखि सहकार्य गर्दै आएको र हालसम्म नेपालमा लागू भएका विभिन्न आयोजनामध्ये भिटा सबैभन्दा ठूलो आयोजना रहेको र यसले नेपालमा कृषिको व्यावसायीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे। 

त्यस्तै इन्भेस्ट इन्भेस्टमेन्ट, नेदरल्यान्डका प्रतिनिधि रोबिन बाउस्टेडले भिटासँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं. १५ र १६ मा निर्माण हुने सेमलार बहुउद्देश्य एकीकृत कृषि थोक बजारको गुरुयोजनाका बारेमा संक्षिप्त जानकारी गराए। 

त्यसैगरी आईएफएडी परामर्शदाता श्यामबहादुर खड्काले सहभागीबाट आएका जिज्ञासालाई प्रस्ट पार्दै परियोजनाको विषयमा थप जानकारी गराए। त्यस्तै कार्यक्रममा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्रका प्रमुख महेन्द्रनाथ पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेशकुमार श्रीवास्तवले दातृ निकायमार्फत प्राप्त उक्त सहुलियतपूर्ण रकम सही ढंगबाट यस प्रदेशका कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मूल्य शृंखलामा आबद्ध गराई लगानी गरिने र यसबाट अधिकांश किसान लाभान्वित हुने जानकारी गराए। 

कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कार्यक्रमको समापन गर्दै परियोजनाअन्तर्गतको यो रकम बैंकले स्थापनाकालकै उद्देश्यअनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी तथा आयात प्रतिस्थापन हुने गरी मूल्य शृंखलाको अवधारणाबाट लगानी गरिने बताए। यसका साथै उनले उक्त कार्यक्रम गर्नका लागि कृषि विकास बैंकलाई जिम्मेवारी दिइएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय, आईएफएडीलगायत सरोकारवाला सबै निकायलाई धन्यवाद ज्ञापन गरे। 

कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, आयोजना, परियोजनाका प्रतिनिधिहरु कृषक तथा उद्यमीहरु तथा प्रदेश कार्यालयका कर्मचारीहरु, बैंक कर्मचारी संगठनका प्रतिनिधिहरु र पत्रकारहरु गरी ६० जनाकोे उपस्थिति थियो। कार्यक्रमको सञ्चालन बैंकका वरिष्ठ शाखा प्रमुख प्रेमप्रसाद खनालले गरेका थिए।