काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको मोरङको रतुवामाई नगरपालिकाको नयाँ बजारस्थित शाखाको उद्घाटन गरिएको छ। 

आफ्नै स्वामित्वको नवनिर्मित भवनको आज बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए। उनले यस बैंकवाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय वजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरुको उपलब्धता रहेकोले सेवा लिन सबैलाई आग्रह गरे। 

कर्मचारीलाई पनि सेवाग्राहीले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउनुपर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडि बढ्न पनि निरौलाले निर्देशन दिए। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोड्ने कृषिलाई नछोड्ने नीति रहेको बताए। उनले विगतदेखि वर्तमानसम्म आइपुग्दा अत्याधुनिक सेवाहरु प्रदान गर्दै हाल प्रचलनमा रहेका बैंकिङ क्षेत्रका सम्पूर्ण प्रडक्टहरु बैंकले उपलब्ध गराउदै आएकोले सेवा गर्ने मौका प्रदान गर्न आग्रह गरे। 

कार्यक्रममा बैंक उपमहाप्रबन्धक दीर्घबहादुर अर्यालले बैंकले उपलब्ध गराउने सेवासुविधाका बारेमा प्रकाश पार्दै भोलिका दिनमा बैंक टिकाइ राख्ने जिम्मा स्थानीयवासीकै हुने भएकोले बैंकका व्यवसाय अभिवृद्धिमा विशेष जोड दिन आग्रह गरे।