काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट भर्चुअल माध्यममा हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावि कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्। 

सभाले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयरपुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। 

बोनस सेयर जारीपछि बैंकको अधिकृत पुँजी तथा जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ। 

सभाले बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनी र सम्बद्ध कम्पनी साना किसान विकास लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।