काठमाण्डौ । कृषि विकास बैंकको आउँदो माघ ७ गते हुन गइरहेको ५५ औँ वार्षिकोत्सवका अवसरमा गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्दति खाता सञ्चालनमा ल्याएको छ। 

अनलाइनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको सुरुआतपश्चात विदेशमा रहेका नेपालीले अनलाइनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शून्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्ने बैंकले जनाएको छ। यसबाट विदेशमा रहेका गैरआवासीय नेपाली तथा विदेशी मुद्रामा तलबभत्ता प्राप्त गर्ने नेपालमा रहेका विदेशी नागरिकले आप्mनै घर तथा कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्था गरिएको छ। 

बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको एवं खाता खोल्नका लागि बैंकको वेबसाइट तथा https://onlineaccount.adbl.gov.np मा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका का.मु. विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले बताइन्। 

सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधीकरण गर्दै प्रतिस्पर्धि वित्तीय वजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागिपरेको छ। यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ। विदेशबाट शून्य मौज्दातमा खाता खोली स्विफ्टमार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ। 

विदेशी मुद्राको खातामा प्रदान गरिने ब्याजमा समेत यो बैंक अन्य बैंकभन्दा अगाडि रहेको छ। हालका लागि विदेशी मुद्राको मुद्दति खातामा ५.५ प्रतिशत र बचत खातामा ४.७५ प्रतिशत ब्याज दिन सकिने कुरा बैंकले प्रकाशित गरेको ब्याजदरसम्बन्धी सूचनामा उल्लेख गरेको छ। 

यसअघि रेमिट्यान्स बचत खाता र रेमिट्यान्स मुद्दति खातासमेत सुरु गरिसेकेको र रेमिट्यान्स बचत खातामा ७.१० तथा रेमिट्यान्स मुद्दति खातामा ११.०५ प्रतिशत बयाज प्रदान गरिरहेको बैंकले जनाएको छ। 

यसका साथै विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउने प्रयोजनका लागि विदेशबाटै अनलाइनका माध्यमबाट नेपाली मुद्रामा बचत तथा मुद्दति खाता खोल्न सकिनेछ।

कृषि विकास बैंकका सेवाहरु विविधीकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न बैंक आक्रामक रुपमा प्रस्तुत भएको छ। 

प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकको नेतृत्व सम्हालेदेखि नै बैंकले प्रविधिमा आधारीत सेवा प्रवाहमा जोड दिएको छ। अनलाइनका माध्यमबाट समेत खोल्न सकिने उक्त खाताहरु सुरुआत भएपश्चात देशमा विदेशी मुद्राको सञ्चिती वृद्धि हुने तथा बैंकको निक्षेपमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ। 

बैंकका सबैजसो सेवाहरुमा सूचना प्रविधिको प्रयोग भइरहेको छ। प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहकमैत्री बनाउँदै बैंकिङ कारोबारको दायरा फराकिलो बनाउन बैंक सधैँ दत्तचित रहेको हाल नेपाल बैंकर्स एसोसियसनसमेतको नेतृत्व सम्हालेका बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए।