काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा आफ्ना सेवाग्राहीलाई डिजिटल प्रडक्ट तथा अन्य सेवामा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ।

बैंकले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, सि–आस्बा, मेरो सेयर र लकर सेवा लिने ग्राहकलाई छुट उपलब्ध गराउने निर्णय गरेको हो। यो छुट सुविधा बैंकमा खाता भएका तर हालसम्म यी सेवा नलिएका र नयाँ खाता खोल्ने ग्राहकलाई यी सेवा लिँदा प्रदान गरिने बैंकले जनाएको छ।  जसअनुसार खाता खोली यी सेवा नलिएका साथै २०७८ माघ ७ गतेदेखि फागुन ७ गतेसम्म नयाँ खाता खोली उल्लेखित सेवा लिने ग्राहकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने र चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था बैंकले गरेको छ। 

यो अवधिमा बैंकले उपलव्ध गराएको अवसरको सदुपयोग गर्न सम्पूर्ण ग्राहकमा बैंकले अनुरोधसमेत गरेको छ।