काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्म १ अर्ब ९० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ८.०९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ६४ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ४.६९ प्रतिशतले घटेर २ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो।

तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी २६.१० प्रतिशतले बढेको छ। 

बैंकको रिटेन अर्निङ ३.६२ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। रिजर्भ १०.६४ प्रतिशतले घटेर १० अर्ब २१ करोड रुपैयाँमा खुम्चिएको छ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ६० अर्ब निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब रुपैयाँ बढी कर्जा परिचालन गरेको छ। खराब कर्जा अनुपात ३.०८ प्रतिशतलाई घटाएर २.३२ प्रतिशतमा झार्न बैंक सफल भएको छ। फस्ट अफ फन्ड ६.३१ प्रतिशत रहेको बैंकको सीडी रेसियो ९२.५१ प्रतिशत र आधार दर ८.२८ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८.४९ रुपैयाँबाट घटेर १६.७९ रुपैयाँमा झरेको छ। पीई रेसियो २१.८५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०४.३० रुपैयाँ र तरलता अनुपात २१.८९ प्रतिशत रहेको छ।