– सरस्वती कटुवाल

काठमाण्डौ । जुत्ताचप्पल बाहिर खोलेर र हातखुट्टा धोएरमात्र कम्प्युटर राखिएको कोठामा प्रवेश गर्नुपर्ने बैंकिङ दुनियाँबाट जागिर सुरु गरेका पाँच महिला सरकारी स्वामित्वसमेत रहेको कृषि विकास बैंकको प्रथम तहमा पुगेका छन्। विगतमा पनि यो बैंकमा प्रथम तहभन्दा माथि पुगेर महिलाहरुले काम गरिसकेका छन् तर एकैपटक पाँच महिलाले कृषि विकास बैंकको अफिसर तहमा रहेर प्रमुख जिम्मेवारी सम्हालिरहेको भने सम्भवतः यो नै पहिलो घटना हुन सक्छ। विगत २२ वर्षदेखि कृषि विकास बैंकका हरेक क्षेत्रमा प्रत्यक्ष र परोक्ष जिम्मेवारी सम्हालेका पाँच महिलासँग उनीहरुका संघर्षमय जीवन, अर्थतन्त्र र बैंकिङ करिअरको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छः

रुक्मिणी भट्ट(विभागिय प्रमुख) - कर्मचारी अवकाश कोष व्यवस्थापन कार्यलय कोषनिर्देशक 

डडेलधुरामा जन्मी–हुर्किएकी रक्मिनी भट्ट सानोमा स्कुल जान मनै नलाग्ने स्वभावकी थिइन्। मानिसहरुसँग धेरै नै लजाउने आदतले गर्दा उनको औपचारिक शिक्षा ८ वर्षदेखि मात्र सुरु भयो। ढिलै भए पनि पिताको प्रेरणा र आफ्नो अठोटका कारण त्यसपछिका दिनमा भने उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन्। थाँतथलो डडेलधुराबाटै प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेकी भट्टले पदमकन्या कलेजबाट स्नातक , त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र, समाजशास्त्र, शिक्षाशास्त्र र काठमाडौं विश्वविद्यालयबाट इएमबीए गरी ४ वटा विषयमा स्नाताकोत्तर गरेकी छिन् ।  

 

विवाहपश्चात कृषि विकास बैंकमा सुरु भएको भट्टको जागिरे जीवन विभिन्न तह पार गर्दै हाल रामशाहपथस्थित केन्द्रीय कार्यालयमा जोखिम व्यवस्थापन शाखा प्रमुखको जिम्मेवारीसम्म पुगेको छ। दुई छोराकी आमा भट्ट परिवार र कार्यालयको समय व्यवस्थापन गर्न कामकाजी महिलालाई सहज नहुने बताउँछिन्।

यस्तै, ‘महिलाहरुले चुनौतीपूर्ण काम गर्न सक्दैनन्’ भन्ने मनोसामाजिक दृष्टिकोणलाई चिर्दै अहम् भूमिका निर्वाह गर्न सके पनि बेलाबखत आफूलाई प्रमाणित गर्नुपर्ने परिपाटीविरुद्घ उनलाई बोल्न मन लाग्छ। उनले काम गर्दाको समय र अहिले धेरै परिवर्तन भइसकेको भए पनि बेला–बेला विभेद खप्नु परेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘काम गर्न अब्बल भएपछि कसैले पनि औँला उठाउन सक्दैन। क्षमता जहिले पनि प्राथमिकतामा पर्छ। राम्रो गर्ने महिलाहरुको कदर भएको छ। ठूलो मासमा चाहिँ पुरुषले केही काम गलत गरे भने उनीहरुलाई नजरअन्दाज गरिन्छ तर महिलाहरुको सामान्य त्रुटि भयो भने छिटो देखिने रहेछ।’ 

एक दिनको कुरा हो, उनी कार्यालयमा हँुदा एक बुज्रुकजस्तो लाग्ने व्यक्तिको फोन आयो। उनी त्योबेला म्यानेजर थिइन्। फोनमा उक्त क्लाइन्टले ‘म्यानेजरलाई फोन दिनुहोस् न’ भने। उनले ‘म्यानेजर म नै हुँ’ भनिन्। तर, फोनमा बोल्ने क्लाइन्टले पत्याएनन्। बरु उल्टै उनले ‘दाह्री–जुँगा नभएको पनि म्यानेजर हुन्छ र ?’ भनी प्रश्न गरिदिए। जबाफमा उनले भनिन्–‘अबको १० वर्षमा दाह्री–जुँगा भएको म्यानेजर कहीँ पनि पाउनुहुन्न।’

भट्ट भन्छिन्, ‘जुनसुकै क्षेत्रमा पनि महिलाहरु अब अब्बल बन्दै गइरहेका छन्। महिला र पुरुषबीचको विभेदकारी सोच महिलाहरुले देखाइरहेको अब्बल क्षमताका कारण घट्दै गइरहेको छ।’

यसो त पुरुषमा अझै पनि पूर्वाग्राही सोचले जरा गाडेर बसेको उनको अनुभव छ। अहिलेको आधुनिक प्रविधिमा सहजै कार्यसम्पादन गर्न सफल भट्टलाई ‘क्षमता हुँदा हुँदै पनि धेरै महिलाहरु अझै पनि बैंकका सीईओ किन बन्न सकेका छैनन् ?’ प्रश्न गरियो। उत्तरमा उनी भन्छिन्, ‘क्षमता हुँदाहुँदै पनि सामाजिक संरचना नै महिलाविरुद्ध छ। सामाजिक परिपाटीले ठूलो भूमिका खेल्छ। तर, अबको एक दशकमा ठूलो परिवर्तन आउँछ भन्नेमा म विश्वस्त छु।’

यो क्रममा भट्टसँग हामीले अर्थतन्त्रका कुरा पनि गर्यौँ। नेपालमा बढ्दै गएको आर्थिक मन्दीको त्रास तथा समस्याग्रस्त बन्दै गएको अर्थतन्त्रलाई भट्ट एउटा प्रक्रिया वा साइकलका रुपमा लिन्छिन्। सन् २००८ मा अमेरिकामा आर्थिक मन्दी आएको थियो। अहिले नेपालमा मात्र हैन विश्वमै आर्थिक मन्दीको त्रास छाएको छ। यसलाई सन्तुलनमा ल्याउन नेपाल सरकारले विशेष योजना ल्याउनुपर्ने र आयात घटाएर निर्यात बढाउनुपर्ने उनको सुझाव छ। 

कृषि विकास बैंकमा अब्बल र समर्पित भएर जीवनका २२ वसन्त यसै क्षेत्रमा बिताएको सम्झिँदै भट्ट आउने युवा–युवतीलाई प्रारब्धको योग र आफ्नो कर्मलाई निरन्तरता दिन सुझाउँछिन्। बैंकिङमा करिअर सोच्नेहरुले धैर्यताका साथ दक्षता र अध्ययनमा जोड दिन उनको सुझाव छ। 

विना शर्मा(विभागीय प्रमुख)-योजना तथा परियोजना विभाग

‘बैंकिङ क्षेत्रको जागिर यस्तो हो जहाँ काम गर्ने अवधिको कुनै सीमा हुँदैन। किनभने दैनिक वर्क टार्गेट पूरा गर्नुपर्छ। आकर्षणका रुपमा पेसालाई सामान्यीकृत गरिएको छ तर यसरी बुझ्नाले त्रुटि हुन्छ। संवेदनशील र समर्पित व्यक्तिले गरेर देखाउने ठाउँ हो बैंक।’ 

काठमाण्डौको रामसाहपथस्थित कृषि विकास बैंकको योजना शाखा प्रमुख विना शर्माको अनुभवले भन्छ, ‘बैंक महिलाहरुका लागि करिअर सुरक्षित हुने’ उत्तम क्षेत्र हो।

काठमाण्डौकै रैथाने विना शर्मा गहनापोखरी टंगालकी बासिन्दा हुन्। जन्म र कर्मघर नै काठमाण्डौ भएकी शर्मा कृषि विकास बैंकमा बिगत २२ वर्षदेखि कार्यरत छिन्। कर्मलाई प्राथमिकतामा राख्ने शर्माले रामपुरबाट स्नातकमा, त्रिभुुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातोकत्तरसम्मको अध्ययन पूरा गरेकी छिन्। स्याङ्जा, बाजुरा, सुर्खेत, चितवनलगायत कर्णालीतिरका जिल्लामा उनीसँग काम गरेको अनुभव छ। दुई दशकभन्दा लामो समयको अनुभवका कारण उनमा पहिला र अहिलेको बैंकिङ सिनारियोका बारेमा यथेष्ट अनुभव संग्रहित छन्। पेसाले चिकित्सक श्रीमानसँग २५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी शर्माका दुई छोरी छन्। कार्यालय र घरको व्यवस्थापनमा परिवारको साथ पाएकै कारण कामप्रतिको अठोट र निरन्तरताले आज उनी कृषि विकास बैंकको उच्च तहमा पुग्न सकेको बताउँछिन्। सानो छँदा बैंकिङ करिअरका बारेमा त्यति चासो नराख्ने शर्मा समय र परिस्थितिले बैंकिङमा नै अब केही गर्न सक्छु भन्ने बन्न सकेकोमा खुसी छिन्। 

अहिलेको प्रविधिमैत्री संस्कृति उनले बैंकमा काम सुरु गर्दाताका थिएन। यसकारण उनलाई प्रविधिमा आफूलाई सहज बनाउन समय लाग्यो। तर, अहिलेका युवायुवतीलाई ज्ञान आर्जन गर्ने यथेष्ट आधुनिक माध्यमले अगाडि बढ्न सहज हुने शर्माको तर्क छ। महिलाहरु अझै पनि उच्च तहमा पुरुषसरह नपुग्नुमा उनी पहिलाका महिलाहरु शिक्षालगायतका क्षेत्रमा कम अग्रसर हुनुलाई कारण ठान्छिन्। तर, आजका युवतीहरु दक्ष र शिक्षामा अब्बल भएका कारण भविष्यमा उपल्लो तहमा महिलाहरु हाबी हुने ठोकुवा गर्छिन्। 

निकु आचार्य (विभागिय प्रमुख) - जोखिम व्यवस्थापन विभाग 
महिलाहरुलाई प्राथमिकतामा राखेर नहेरिएका कारण आजको मितिसम्म पनि क्षमता हुँदाहुँदै पनि महिलाहरु बैंकजस्ता क्षेत्रमा सीईओ लेभलमा अत्यन्त नगण्य संख्यामा मात्र पुगेका निकु आचार्य बताउँछिन्। आचार्य कृषि विकास बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छिन् ।

महिलाहरुलाई प्राथमिकतामा राखेर नहेरिएका कारण आजको मितिसम्म पनि क्षमता हुँदाहुँदै पनि महिलाहरु बैंकजस्ता क्षेत्रमा सीईओ लेभलमा अत्यन्त नगण्य संख्यामा मात्र पुगेका निकु आचार्य बताउँछिन्। उनी कृषि विकास बैंकको जोखिम व्यवस्थापन प्रमुखका रुपमा कार्यरित छिन्। 

क्षमतावान भए पनि उनीहरुलाई हेर्ने दोषपूर्ण सामाजिक दृष्टिकोणले पनि यस्तो भएको आचार्यको ठम्याइ छ। आचार्य आगामी दिनमा धेरै महिलाहरु सीईओ लेभलमा पुग्ने ठान्छिन्। उनी भन्छिन्, ‘महिला र पुरुषबीच एकखालको ग्याप छ। जस्तो सीईओ लेभलमा पुग्न एउटा स्ट्यान्डर्ड पूरा गर्नुपर्यो। भनेको दसौँ तहमा पुग्नुपर्छ। त्यहाँ पुगेर पनि सीईओ बन्नलाई अझै बाटो पूरा हुँदैन। यसकारण वर्क ब्यालेन्स गर्न नसकेर महिलाहरु नपुगेको हो। तर, विस्तारै महिलाहरु पुग्दैछन्।’

झापा जिल्लाको दमकमा जन्मिएकी आचार्यका बुवा–आमा नै बैंकिङ क्षेत्रमा आबद्घ भएकाले उनलाई यो क्षेत्रमा आउने प्रेरणा मिल्यो। उनको स्कूले जीवन बुवा–आमा जहाँ सरुवा भएर जानुहुन्थ्यो, त्यही जानुपर्ने बाध्यतामा बित्यो। यो क्रममा उनले नेपालका धेरै विद्यालयमा अध्ययन गर्ने मौका पाइन्। आमा–बुवाका पाँच सन्तानमध्येकी पहिलो सन्तान हुन आचार्य। पहिलो सन्तान भएकाले सानैदेखि परिवारमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ। आईएसी एजी पतलैया र बीएसी एजी रामपुरबाट पूरा गरेकी आचार्यको स्नातकोत्तरसम्मको शिक्षा पूरा हुनेबित्तिकै एग्रिकल्चर ग्रयाजुएटका रुपमा उनी कृषि विकास बैंकमा प्रवेश गरेकी थिइन्।  

काममा निरन्तरता, लगनशीलता, इमानदारिता र धैर्यताले आज उनी कृषि विकास बैंकको पहिलो तहमा रहेर कामको जिम्मेवारी सम्हालिरहेकी छिन्। मध्यम वर्गीय परिवारमा हुर्किएकी भए पनि उनले कहिल्यै अभावको महसुस गर्नुपरेन। उनी भन्छिन्, ‘मेरो बुवा–आमाले कहिल्यै पनि अभावमा राख्नुभएन। तथापि, मैले पनि अध्ययन र कामलाई सदैव प्राथमिकतामा राखेर हो, छिटै आत्मनिर्भर हुन सफल भएकी।’ 

प्राइभेटमा भन्दा सरकारी बैंकिङ सेक्टरमा अफिसर तहमा काम गर्ने महिलाहरुलाई विभेदकारी हिसाबले हेर्ने गरेको आफूले सुनेको तर त्यस्तो खालको व्यवहार आफूले कहिल्यै नभोगेको आचार्य बताउँछिन्। विगत २२ वर्षदेखि कार्यरत आचार्यसँग कृषि विकास बैंकका जिल्लाअन्तर्गतका विभिन्न शाखामा बसेर काम गरेको अनुभव पनि छ।

हाल बैंकिङ प्रणालीमा तरलता अभावको जटिल समस्या देखिएको उनी बताउँछिन्। राजनीतिक अस्थिरता, बढ्दो आयात, घट्दो निर्यातजस्ता कारणले देशको अर्थतन्त्र सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको उनको ठम्याइ छ। संकटमा फस्दै गएको राष्ट्रिय अर्थतन्त्रलाई लयमा फर्काउन नेपाली उत्पादन बढाउनुपर्ने र नियामकहरुले गम्भीर भएर सोच्नुपर्नेमा उनको जोड छ। 

नैतिकवान, कामप्रति जिम्मेवार, दक्ष र जस्तोसुकै चुनौतीको पनि सामाना गर्नसक्ने महिलाहरुका लागि बैंकिङ करिअर राम्रो अवसरको क्षेत्र रहेको उनको दाबी छ। 

सरिता दाहाल(विभागीय प्रमुख)-प्रमुख अनुपालना अधिकृत

बैंकिङ क्षेत्रमा महिलाहरुको उल्लेख्य संख्य बढ्दै गइरहेको भए पनि सीईओ तहमा अनुपमा खुञ्जेलीबाहेक अहिलेसम्म अन्य कोही पनि महिला पुगेका छैनन्। तर, अबको नयाँ पुस्तालाई सीईओ बन्नका लागि अहिलेका महिलाहरु जस्तो गाह्रो नहोला भन्छिन्, सरिता दाहाल। हाल कृषि विकास बैंकको रत्नपार्कस्थित अनुपालना शाखा प्रमुखको जिम्मेवारीमा रहेकी दाहाल विगत २४ वर्षदेखि बैंकमा कार्यरत छिन्। बूढानीलकण्ठ नगरपालिका भङ्गालमा स्थायी बसोबास गरिरहेकी दाहाल नेपालको सबैभन्दा ठूलो औद्योगिक सहरको नामले परिचित पूर्वाञ्चलको विराटनगरमा जन्मिएकी हुन्। अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा भएपछि सरकारी बैंकमा नै जागिर खाने उनको सोच थिएन। उनलाई प्राइभेट बैंकमा काम गर्ने इच्छा थियो। बैंकमा करिअर सुरु भएपश्चात अन्य क्षेत्रमा जाने सोच नै बनाइनन्।

महिला–पुरुषबीच चलिआएको विभेदकारी सामाजिक दृष्टि आज पनि यथावत रहेको ठान्ने दाहाल कामको प्रथमिकतामा र केस बेसिसमा पुरुषहरु नै छनोट हुने गरेको तर्क गर्छिन्। महिला–पुरुषबीचको भिन्नता अहिले पनि हाबी हुने गरेको उनको बुझाइ छ। 

उनले यो क्रममा संकटमा फस्दै गएको देशको अर्थतन्त्रको विषयमा समेत कुराकानी गरिन्। नेपाल सरकार बढी आयातमुखी भएर अर्थतन्त्रमा समस्याहरु देखिन थालेको उनको ठम्याइ छ। नेपालले आफ्नो देशको उत्पादनलाई प्राथमिकता नदिनु अभिशाप बन्दै गएको उनको भनाइ छ। सरकारमात्र नभई जनतासमेत आयातीत सामानप्रति धेरै नै मोहित हुँदा अर्थतन्त्रमा समस्या देखिएको उनी ठान्छिन्। 

प्रविधिमैत्री बैंकिङ कार्यभार सम्हाल्न र अपडेट हुन निकै मेहनत गर्नुपरेको विगत सम्ँिझदै दाहाल बैंकिङ क्षेत्रमा आउने युवती अथवा महिलाहरुलाई काम गर्ने वातावरण राम्रो भएको बताउँछिन्। उनी भन्छिन्, ‘यो क्षेत्रमा भविष्य देख्नेले गहिरो अध्ययन गरेर, कटिबद्घ भएर, काम गर्ने इच्छा लिएर करिअर सुरु गर्नुपर्छ। टम्र्स एन्ड कन्डिसनलाई सामना गर्नसक्नेले सफलतापूर्वक जिम्मेवारी वहन गर्न सक्छ र सफल पनि हुन्छ।’  

पैसाको क्षेत्रमा काम गर्ने महिला कुनै बेला पैसाविहीन अर्थात अभावमा गुज्रिएर दुःख पाएको क्षण छन् त भन्ने सवालमा दाहाल भन्छिन्, ‘दसैँको बेला थियो, २०५२ सालमा कृषि विकास बैंकमा जागिरका लागि परीक्षा दिएकी थिएँ, रिजल्ट आउला पास हुन्छु र भत्ता आउँछ, तलब आउँछ भनेर सामान किन्ने लिस्ट बनाएर बसेकी थिएँ। तर, त्यो साल त रिजल्ट नै आएन। पैसाको योजना बनाएर नपुगेको त्यो क्षण निकै अविस्मरणीय लाग्छ।’

उनीसँग धेरै पैसा भएर त्यसरी निकै खुसी भएको क्षण भने छैन। पैसा यति कमाउनुपर्छ उति कमाउनुपर्छ भन्ने कहिल्यै नसोचेको उनी बताउँछिन्। ‘साधारण गाँस, बाँस, कपासलगायतका आवश्यकताहरु पूरा भइरहेको भएर होला खासै सोच्दिनँ यस्ता कुरा’, उनी थप्छिन्। 

समृद्धि कार्की(प्रबन्धक)-मुख्य शाखा  पोखरा  

‘जति नै समानताको कुरा गरे पनि धेरथोर महिला र पुरुष भन्ने खालका विचार र व्यवहार कतै न कतै झल्किहाल्ने ठान्छिन् कृषि विकास बैंकको पोखरा मुख्य शाखा प्रबन्धक भएर काम गरिरहेकी समृद्धि कार्की। महिलाहरुलाई बैंकमा ‘सो पिस’का रुपमा मात्र राख्ने फेसन आएको हो कि जस्तो पनि लाग्छ उनलाई। 

महिलाहरुलाई अलिक चुनौतीपूर्ण काम जिम्मा दिन अझै पनि नेतृत्व हिच्किचाउने र ‘अप्ठेरो ठाउँमा गर्न सक्दैनन् कि’ भन्ने गलत सोच हाबी भएकोमा उनी दुःखी छिन्।

पछिल्लो समय विभिन्न क्षेत्रमा महिलाहरुको राम्रो काम देखेर र दृढ विश्वासलाई मूल्यांकन गर्दै हरेक क्षेत्रमा महिलाहरुको माग बढिरहेको कार्की बताउँछिन्। 

उपत्यकामै जन्मी–हुर्किएकी कार्कीले पीसीएल साइन्स र स्नातक, स्नातोकत्तर भने व्यवस्थापनमा गरिन्। सम्पन्न परिवारमा हुर्किएकी कार्कीले कृषि विकास बैंकले कर्मचारीको मागेको थाहा पाएपछि २१ वर्षअगाडि जागिरका लागि आवेदन दिएकी थिइन्। साथीभाइको लहैलहैमा आवेदन दिएकी कार्कीको जागिरे जीवन कृषि विकास बैंकमा अकस्मात सुरु भयो। कृषि विकास बैंकका विभिन्न शाखाको अनुभव हासिल गर्दै अहिले उनी कृृषि विकास बैंकको पोखरा कामु प्रबन्धकका रुपमा ५ महिनादेखि कार्यरत छिन्। उनी आफ्नो बैैंकिङ अनुभव बाँड्दै भन्छिन्, ‘पहिला सिनियर स्टाफलाई सम्मान गर्ने आचरण भएका कर्मचारी थियौँ। हिजोआज त्यो चाप घटेको जस्तो महसुस हुन्छ।’ 

महिलाहरु लामो समय सीईओका रुपमा जागिरमा टिक्न नसक्नुको कारण बताउँदै कार्की भन्छिन्, ‘पुरुष प्रतिस्पर्धी धेरै भएर हो। महिलाहरु धेरैले अवसर नपाएर पनि हो। महिलाहरु पनि गर्न सक्छन् तर घरको काम, पारिवारिक व्यवस्थापनको जिम्मेवारी बढी महिलाहरुले बोक्ने भएको भएर महिलाहरु दीर्घकालीन रुपमा टिक्न नसकेका हुन्। तर, यति भनिरहँदा म एउटै बैंकमा दुई दशक बढी टिकेर काम गरिरहेकी छु। कतिपय कुरा चाहिँ दोषपूर्ण सामाजिक सोच र महिलाहरुको दक्षतालाई नजरअन्दाज गर्ने गलत परिपाटीले पनि यस्तो भएको हो कि जस्तो लाग्छ।’ 

अर्थतन्त्रको विषयमा सोधिएको धारणामा प्रस्ट पार्दै कार्की भन्छिन्, ‘लगानी गर्ने नयाँ ठाउँ नभएर हो। लगानीको दायर सीमित भएर, राजनीतिक अस्थिरता, अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालको अर्थतन्त्र ओरालो लागेको हो।’ 

उदाहरण दिँदै कार्की पोखरामा अहिले पर्यटनको अवस्था नाजुक हुँदै गएको बताउँछिन्। पर्यटकहरु कम आउन थालेका कारण पोखराको व्यावसायिक स्थिति बिग्रिँदै गएको उनी बताउँछिन्। 

देशको कुनै एउटा क्षेत्र अवस्था नाजुक हुनेबित्तिकै सबै क्षेत्रलाई असर गर्ने उनको तर्क छ। नेपालको अर्थतन्त्रलाई अप्रत्यक्ष कारणहरुले धेरै गिजोलेको उनको तर्क छ। 

आफूलाई भाग्यमानी ठान्ने कार्कीले जन्मैदेखि आफूले सोचेजस्तै जीवन भोग्न पाइन्। गुणस्तरीय शिक्षाका लागि अंग्रेजी माध्यमका शिक्षालय पढ्ने मौका पाइन्। बुवा–आमा नै जागिरे भएकाले उनको बाल्यकाल खासै अभावमा बितेन। तथापि, कार्कीले आफू सानैदेखि काम गर्ने र आत्मनिर्भर हुन रुचाउने भएकाले खासै समस्या नपरेको बताउँछिन्। 

कम्प्युटर शिक्षामा पोख्त कार्की अहिलेको प्रविधिले आफूलाई पछि नपारेको बताउँदै कृषि विकास बैंकको करिअरमा भविष्यमा अझ खरो उत्रिएर सफल बैंकर बन्नसक्ने अठोट व्यक्त गर्छिन्।