काठमाण्डौ । एक केजी आपको मूल्य कति पर्ला ? १ सय, २ सय, ३ सय वा ४ सय । पक्कै पनि एक केजी आपको मूल्य भन्नुपर्दा हाम्रो दिमागमा यी अंकहरु नै आउँछन । तर एक केजी आपको मूल्य ४ लाख ३२ हजार रुपैयाँ पर्छ भन्दा के तपाइँ विश्वास गर्नुहुन्छ ? हो, एक केजीको मूल्य ४ लाख ३२ हजार रुपैयाँ पर्ने आपको सुरक्षाका लागि भारतमा ३ वटा गार्ड र ९ वटा कुकुरलाई २४ सै घण्टा तैनाथ राखिएको समाचार बाहिरिएको छ । 

भारतको मध्यप्रदेशको जवलपुरमा एउटा आपको बगानको सुरक्षाका लागि ३ वटा गार्ड र ९ वटा कुकुर तैनाथ गरिएको भारतीय मिडियाहरुले जनाएका छन् । यो विशेष प्रकारको आप मूलतः जापानमा पाइने गर्दछ । 

जवलपुरको यो बगानमा रहेको यो आपको मूल्य अन्तर्राष्ट्रिय बजारमा ४ लाख ३२ हजार रुपैयाँ पर्ने जनाइएको छ । मूल्य अधिक भएका कारण आपको सुरक्षाका लागि विशेष प्रबन्ध गरिएको छ । यी आपको सुरक्षाका लागि गार्ड र कुकुरहरु २४ सै घन्टा तैनाथ हुने गर्दछन् । 

बगान मालिक संकल्पका अनुसार यो जापानी आपको नाम ताइयो नो तामांगो हो । यसलाई ‘एग अफ सन्स’ अर्थात सूर्यको अन्डा समेत भन्ने गरिन्छ । गत वर्ष यो आपको धेरै चर्चा भएको र त्यसपश्चात यसको चोरी भएको संकल्प बताउँछन् । आफू आपको सुरक्षालाई लिएर चिन्तित रहेको र यसको सुरक्षाका लागि अतिरिक्त पैसा खर्च गरिरहेको उनी बताउँछन् । 

यो आप जब पूरै पाक्छ तब यसको रंग हल्का रातो र पहेँलो हुने गर्दछ र यसको तौल ९०० ग्रामसम्म पुुग्ने गर्दछ । यसमा फाइबर(रेसा)पाइदैन र यसको स्वाद पनि एकदमै मिठो हुने गर्दछ । आपको यो प्रजाति जापानमा संरक्षित वातावरणमा फलाइने गरिन्छ । तर संकल्पले भने आफ्नो बाझो रहेको जग्गामा यसलाई खुला रुपमा लगाएका छन् । 

बगानका मालिक संकल्पका अनुसार उनले सुरुवातमा ४ एकडको जमिनमा केही आपका विरुवाहरु रोपेका थिए । अहिले उनको बगानमा १४ वटा हाइब्रिड तथा ६ वटा विदेशी प्रजातिका आपका बोटहरु छन् । जापानी मिडियाका अनुसार यो आपलाई विश्वको सबैभन्दा महंगो आपको रुपमा लिइने गरिन्छ । गत वर्ष अन्तराष्ट्रिय बजारमा यो आपको मूल्य प्रतिकेजी ४ लाख रुपैयाँसम्म पुुगेको बताइएको छ । जापानी भाषामा यो आपलाई ‘ताइयो नो तामागो’को नामबाट समेत चिन्ने गरिन्छ ।