काठमाण्डौ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले केहीबेरअघि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले ओलीलाई संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् । 

संसदमा उपस्थित दुई वा दुईभन्दा बढी दलले बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न नसकेपछि ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको शितल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । धारा ७६ को उपधारा ३ मा कसैले बहुमतसहितको दाबी पेश गर्न नसकेको अवस्थामा संसदको सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । 

एमालेले महन्थ ठाकुर पक्षको साथ लिएर बहुमतको दाबी पेश गर्ने संभावना भए पनि ओली अर्ली इलेक्सनको पक्षमा रहेकोले ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका हुन् ।

यसरी प्रधानमन्त्री बनेका उनले एक महिनापछि पुनः विश्वासको मत लिनुपर्छ । तर, ओली त्यो पक्षमा छैनन् । नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि नभए मुलुक मध्यावधि निर्वाचनतर्फ जानेछ । 

ओली २०७४ साल फागुन ३ गते दोश्रोपटक प्रधानमन्त्री बनेका थिए । सो बेला माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए ।

त्यसअघि २०७२ असोज २५ गते ओली पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । यसरी ओलीलाई आज पुनः प्रधानमन्त्रीमा नियुक्ति गरिएसँगै उनले प्रधानमन्त्रीमा ह्याट्रिक गरेका छन् । 

पुनः प्रधानमन्त्री बन्ने ओलीको सपथ ग्रहण भने शुक्रबार दिउँसो साढे २ बजे तय भएको छ । 

त्यसलगत्तै ओलीले मन्त्रीपरिषद समेत गठन गर्नेछन् । मन्त्रीहरुको सपथ समेत भोलि नै गर्ने तयारी भइरहेको छ।