– भक्तराज रसाइली

काठमाण्डौ । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे (प्रणय दिवस)। आजको दिन विशेषगरी युवा जोडी खुलेर आफ्नो प्रेमभाव खोल्छन्। 

विद्यार्थी जीवन अथवा भनूँ युवावस्था जुन युवतीको आकर्षणमा प्रेममा रमाउने बेला एक युवक भने सेयरसँगको प्रेममा रमाइरहे अनि फेरि केही समय ब्रेकअप पनि भयो। आज तिनै युवकको सक्सेस स्टोरी हामीले प्रस्तुत गर्न गइरहेका छौँ। हेरौँ उनले आफ्नो भ्यालेन्टाइन अर्थात सेयर बजारप्रतिको आकर्षण, बिछोड अनि पुनः मिलनबाट कत्तिको सफलता प्राप्त गरिरहेको छन्  

सेयरको प्रेममा रमाइरहेका ती युवक हुन् केशव अधिकारी। जो २० वषकै कलिलो उमेरदेखि सेयर बजारमा लागेका अधिकारीले अहिले सफल लगानीकर्ताका रुपमा छवि बनाएका छन्। 

थोरै पूँजी पनि सहजै लगानी गर्न सकिने र अथाह पैसा कमाउने सम्भावना भएको सेयर बजारको आकर्षण पनि बिछट्टै छ। बजारको बढ्दो ट्रेण्डमा बजारमा छिरेर बूलमा सु्रक्षित अवतर गर्दै बियरिसको ट्रेन्ड अन्त भई बुल रन समाउन अधिकारी पुनः सेयर बजारमा सक्रिय बनेका छन्। 

स्नातकोत्तर उत्तीर्ण अधिकारीको स्थायी घर गैंडाकोट नवलपरासी हो। हाल उनी आफैंले सेयरबाट भएको कमाइले ललितपुर इमाडोलमा बनेको अढाइ तले घरमा बस्दै आएका छन्। आफूलाई व्यवसायी र पूर्णकालीन लगानीकर्ताका रुपमा परिचय दिन रुचाउने उनी १२ वर्षअघि अध्ययनकै सिलसिलामा राजधानी काठमाण्डौ आएका हुन्।

पाँचौँ सेमेष्टरमा सिटिजन्स कलेज काठमाण्डौमा गैंडाकोटबाट स्थानान्तरण भई आएका अधिकारी बीबीए छैटौं सेमेष्टरमा आफ्ना गुरु वीरेन्द्र विष्टबाट प्रभावित भई सेयर बजारमा आए। सेयर बजारको उत्सुकतालाई अधिकारीका गुरुले त्यो बेला सहजीकरण गदिएछन्। अनि सुरुआत भयो प्राथमिक बजारबाट अधिकारीको सेयरयात्रा। 

२०६८ सालताका नबिल म्युचुअल फण्डको आइपीओबाट सुरुआत गरेका अधिकारीले प्राथमिक बजारबाट प्रतियुनिट १० रुपैयाँमा करिब १० हजार कित्ता किनेर दोस्रो बजारमा १४ रुपैयाँमा बेच्न सफल हुन्छन्। पहिलो प्रयास नै सफल भएपछि उनको सेयर बजारको तिर्खा झन् बढ्दै जान्छ। उनका पिता इन्डियन आर्मी र परिवारको हार्डवेयर पसल। आर्थिक सहयोग नहुने त सवाल थिएन।

अधिकारीले आइपीओमै लगानी ओइराउँदै लगे। बिहानको कलेज अनि दिनभर ८÷१० वटा ब्रोकर हाउस डुल्ने उनको त्यो बेलाको दैनिकी थियो। आइपीओमा लगानी गरिसकेका उनले दोस्रो बजारमा पनि सक्रिय हुनुअघि ब्रोकर हाउसहरुमा अध्ययनका लागि जान्थे र पुराना लगानीकर्तासँग साक्षात्कार र भलाकुसारी गरेपछि अन्ततः उनी पनि दोस्रो बजारमा लगानी गर्न थाले। 

२०६८ सालताका नै दोस्रो बजार प्रवेश गरेका अधिकारीले सुरुमा किनेको सेयर चाहिँ सिभिल बैंक रहेछ। सिभिल बैंक र कमर्ज एन्ड ट्रस्ट बैंकका १००÷१०० कित्ता सेयर १३५ हाराहारीमा किनेर केही दिनमै १५३ रुपैयाँ प्रतिकित्ता बेच्न पनि भ्याए। दोस्रो बजारमा पनि उनको मेहनत खेर गएन। अनि त अल्पकालीन सेयर कारोबार गर्न उनलाई थप उर्जा मिल्यो र हौसला पनि बढ्दै गयो। 

आइपीओमा लगानी गर्न परिवारबाट ५० हजारदेखि १ लाख रुपैयाँ लिई अधिकारीले थपथाप साथीभाइबाट लिए। दोस्रो बजारमा सर्टटर्म कारोबार गर्ने निधो गरेका अधिकारीले वारेन बफेटको सिद्धान्त अवलम्बन गर्ने गरेको जिकिर गरे। कुनै समाचार वा जानकारी बिना नै कुनै कम्पनीको सेयरमूल्य १० प्रतिशत घटे किन्ने र १० प्रतिशत बढे चाहिँ बेच्ने सिद्धान्तलाई आत्मसाथ गर्दै उनी दोस्रो बजारमा जमेर लाग्दै गए। 

दोस्रो बजारमा लगानीका लागि पैसाको अभाव खट्कियो अनि अधिकारीले २०७० सालमा बुवाको रिटायर्डपछि आएको ५० लाख हाराहारी पूँजी लिई सेयरमा लगानी गर्न थाले। परिवारलाई कन्भिस गरेर नै लाखौँ पैसा सेयरमा ओइराएका उनले माइक्रोफाइनान्स र इन्स्योरेन्स सेक्टरमा लगानी गरे।

सर्ट टर्म कारोबारबाट कुस्त कमाएका अधिकारीले सेयरको लगानी तेब्बर पारेको दाबीसमेत गरे। परिवारलाई कन्भिस गरेर सेयरबाटै करोडपति हुने सपना पनि पूरा भयो। 

२०७२ सालतिर जब नेप्से १६ सयको इन्डेक्स उक्लिँदै थियो तब अधिकारीलाई बजार घट्न सक्ने शंका उब्जन थाल्यो। अनि बजारबाट बाहिरिने निर्णय गरेका उनले लगानीको तेब्बर कमाइ सेयरबाट कमाउन सफल रहे। उनले पोर्टफोलियोको ५ प्रतिशतमात्रै छाडेर उनी पूर्णतः सेयर बजारबाट बाहिरिए।

जग्गामा पनि बूम हुँदै थियो अनि अधिकारी र उनका दाजु मिलेर जग्गा र हाउजिङमा लगानी गर्न पुग्दछन्। उनका दाइसँग मिलेर काठमाण्डौमै हार्डवेयर पसल र हाउजिङ व्यवसायलाई उनले अधिक समय दिन थाले। उनका अनुसार हाउजिङमा पनि ४० प्रतिशतसम्म मार्जिन बसाएछन्। 

उता सेयर बजार केही समयपछि १८८१ को विन्दूबाट ओर्लिन थाल्छ। बजारको अत्याधिक बढाइ र पीइओ रेसियो २०० हाराहारी भएपछि बजारले ओरोलो लय समात्ने अधिकारीको अनुमान र विश्लेषण थियो। आखिरीमा भयो पनि त्यस्तै। 

पुराना लगानीकर्ताका अनुभव र विचारलाई समेत आत्मसाथ गरेका अधिकारीले सेयर बजारबाट बाहिरिने निर्णय सही साबित हुन पुग्यो। बजारबाट सही समयमा बाहिरिने निर्णय तर उनी रियल स्टेट बिजनेसमा अहिले पनि उत्तिकै सक्रिय छन्।

सेयरकै कमाइले अधिकारी र उनका दाजु मिली इमाडोलमा अढाइ तला घर र ३÷४ ठाउँमा जग्गा अनि गाडी जोडेका रहेछन्। एक इन्भेस्मेन्ट कम्पनी र सहकारीमा समेत उनको लगानी रहेको खुलासा गरे।

गत साउनयता सेयरबजारमा कमब्याक अधिकारीको नेप्से इन्डेक्सको बियरिस चक्र पार गरिसकेको ठहर छ। अब बजार बढ्ने अनुमान पालेका उनी विगत ६ महिनादेखि पुनः सेयर बजारमा ४० लाख हाराहारीको लगानीबाट बजार प्रवेश गरेको उनको भनाइ छ। हाल भने अल्पकालीन र दीर्घकालीन रणनीतिका साथ पोर्टफोलियो बनाएर लगानी गरिरहेका उनी बजारमा तरलता वृद्धि, ब्याजदर घट्दै जानु र सेयर कर्जा सहज हुनुलाई बजारमा अब बुल रनको सुरु भएको दाबी गर्छन्। अर्थमन्त्री खतिवडा, गभर्नर नेपाल र सेबोन अध्यक्ष ढुंगाना सेयर बजारप्रति सकारात्मक हुनु पनि बजार बढाइको आधार भएको उनको ठहर छ।

सेयर खरिदबिक्रीका सिलसिलामा अधिकारीले सबैभन्दा धेरै नाफा भने निर्धन उत्थान लघुवित्तमा गरेका रहेछन्। ११ सय प्रतिकित्ता सो कम्पनीको सेयर किनेर प्रतिकित्ता १७ सयमा बेच्दा सबैभन्दा बढी मुनाफा दिएको सेयर निर्धन उत्थान रहेको उनी जिकिर गर्छन्। ‘सेयर कारोबारमा सधैँ नाफामात्र हुन्न, उसो त नाफा गर्नेले कहिलेकाहीँ घाटा पनि सहनसक्नुपर्छ’, उनी भन्छन्, ‘शिवमको प्रतिकित्ता ६१२ मा किनेर ५०० प्रतिकित्तामा बेच्दा मलाई ठूलै नोक्सानी पनि भयो।’ 

२०६८ सालताका अधिकारी बजार छिर्दा नेप्से इन्डेक्स ३५० कै सेरोफेरोमा थियो। बजार क्रमशः अपट्रेन्डमा गइरहेका बेला छिरेका उनीसँग भएको ९ वर्षको सेयर अनुुभव साट्दै भन्छन्, ‘किन्नलाई हतार नगर्ने र बेच्नलाई भने हतार गर्नुपर्ने रहेछ। सेयरलाई माया र लोभ भने गर्न हुन्न।’ 

‘सेयर कर्जामा फोकस हैन, कम्पनीको अध्ययनमा फोकस गर्नुहोस्’, उनले भने, ‘कम्पनीको इतिहास र आगामी दिशाबारे विस्तृत अध्ययन गरे सेयरलगानीमा अवस्य सफलता पाइन्छ।’

सेयर लगानीकर्ताले ३ कुरामा विशेष ध्यान पुर्याउनुपर्ने अधिकारीको धारणा छ। वासलात अध्ययन, बजारको दिशा अध्ययन, सरकारी नीति तथा नियामकका गतिविधिलगायत विषयमा बुझेरमात्र लगानी गरे सफलता हात लाग्ने उनी सुनाउँछन्।

सेयरबाट सफल हुन भने भित्री इच्छाशक्तिको महत्वपूर्ण भूमिका रहने दाबी गरेका अधिकारी मेहनतसाथ सेयरको लगानीले करोडपति हुन सकिने जिकिर गर्छन्। 

सेयर बजारमैत्री वातावरण नभएकामा चिन्तित अधिकारी नियामक निकाय गैरजिम्मेवार भएको आरोप लगाउँछन्। कार्यान्वयन अवस्था फितलो बनाउने र भाषणबाजीमै रमाउने नियामकीय निकायको नेतृत्वबाट दिक्क उनी सेयर बजारको विकास तथा विस्तारका निम्ति गाउँगाउँमा ब्रोकर शाखा र बैंकका शाखाबाट समेत सेयर किनबेच गर्न पाउने व्यवस्थामा जोड दिन्छन्।

पैसावाल र पहुँच भएका व्यक्तिले इन्साइडर ट्रेडिङ गरिरहेको अधिकारी दाबीसमेत गर्छन्। निकट भविष्यमा उत्पादनमूलक उद्योग चलाउने सोच राखेका अधिकारी सफल उद्यमी र सेयर बजारमा सक्रिय हुने योजना रहेको बताउँछन्।