काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन सीमित क्षेत्रमा भने खुकुलो हुने भएको छ । 

कोरोना १९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसीएमसी)को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकको निर्णय सुनाउँदै सिसीएमसीका सदस्य तथा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनको १० औं दिनमा आएर आफूहरुले अत्यावश्यक वस्तु, औषधि, खाद्य सामाग्री र इन्धनको आपूर्ति गर्ने ढुवानीका साधनको आवागमनलाई अझ सहज बनाइने बताए । 

यस्तै, सिसीएमसीले नियमित रुपमा आयात भएका आपूर्तिजन्य वस्तु, दैनिक आवश्यक वस्तु, मुलुकभित्रै उत्पादन हुने वस्तुको लेखाजोखा समेत राख्न थाल्ने भएको छ । 

उद्योग संचालन गर्न दिइने
सरकारले उद्योग कलकारखाना र ठूला आयोजनाहरुलाई समेत केही मापदण्ड पूरा गरी संचालन गर्न दिने निर्णय  गरेको छ । 

‘खाद्य र अति आवश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुलाई त्यही उद्योगभित्र कामदारलाई सुरक्षित राखी तथा स्वास्थ्यको मापदण्ड पूरा गरेर चलाउन दिने निर्णय गरिएको छ ।’ सरकारका प्रवक्ता समेत रहेका डा. खतिवडाले भने–‘अन्य उद्योगहरुले पनि आफ्नै परिसरभित्र आवासीय रुपमा मजदूर परिचालन गरी र स्वास्थ्यका अन्य मापदण्ड पूरा गरेर चलाउन सक्नुहुन्छ भने आवागमनलाई बाहिर रोकेर चलाउन दिने निर्णय गरिएको छ । उद्योगभित्रै चलाउनसक्ने अवस्था भएका उद्योगहरुले चलाउन पाउनेछन्, स्थानीय प्रशासनले त्यस्ता इच्छुक उद्योगहरुका लागि सहजीकरणको व्यवस्था गरिदिनुपर्नेछ।‘

यस्तै, सरकारले तामाकोशी, मेलम्ची लगायतका राष्ट्रिय महत्वका आयोजनाहरुको काम पनि अगाडि बढाउने निर्णय गरेको छ । ती आयोजनाहरुमा काम गर्ने कामदार ठूलो संख्यामा त्यहीभित्रका छन् । ‘त्यस्ता आयोजनामा बाहिरका कामदारलाई प्रवेश गर्न नदिने र भित्रका कामदारलाई पनि सुरक्षाका सबै उपाय र उपकरण अपनाएर कामलाई निरन्तरता दिने निर्णय भएको छ ।’ सूचना, संचार तथा प्रविधि मन्त्री समेत रहेका खतिवडाले भने–‘देशका अरु आयोजनाले पनि आफ्नै क्षेत्रभित्र रहेका कामदारबाट काम गराउन सक्छन् भने स्थानीय प्रशासनले त्यसलाई पनि सहजीकरण गरिदिनुपर्नेछ ।’

बाली काट्न र लगाउन दिइने
सरकारले तत्कालका लागि बालीनाली काट्ने र लगाउने बेला आएको भन्दै त्यस्तो कार्यमा लकडाउन नलाग्ने समेत घोषणा गरेको छ । ‘हिँउदे बाली काट्ने, बर्खे धान रोप्ने बेला भएको छ । यस्ता विषय नरोक्ने निर्णय भएको छ ।’ उनले थपे–‘बाहिरी कृषि श्रमिक नल्याउने शर्तमा स्थानीय र पारिवारिक रुपमा बाली उठाउने र नयाँ बाली लगाउने कार्यमा सरकारको अवरोध हुनेछैन ।’

दशगजामा रोकिएकालाई तत्काल प्रवेश नदिइने 
नेपाल–भारत सीमाको दशगजामा नेपाल फर्किन नपाएर अलपत्र परेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार नगर्ने र उनीहरु जहाँ छन् त्यही बसेर १४ दिनको क्वारेन्टाइन अनिवार्य पूरा गर्नुपर्ने सरकारी अडान अर्थमन्त्रीले दोहोर्याए । ‘हाम्रातर्फ भएका विदेशीलाई हामी सुरक्षा गर्छौ, भारततर्फ भएका दाजुभाई दिदीबहिनीहरुलई छिमेकी मुलुकबाट भइरहेको सहयोगको सराहना गर्दै एकआपसमा सहयोग गर्दै उहाँहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने निर्णय भएको छ ।’ उनले थपे–‘त्यसरी सबै सबै नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइन बसेपछि मात्र सीमा क्रस गरिदिनुहुन अनुरोध छ । यो कुरा यहाँहरुले पनि बुझिदिनुपर्छ भन्ने लाग्छ ।’ 

जीटूजीबाट सामान खरीद गर्ने
यसैबीच, स्वास्थ्य सामाग्री खरीदको मोडालिटीको विषयमा समेत सिसीएमसीको आजको बैठकमा छलफल भएको डा. खतिवडाले जानकारी दिए । ‘कसैले भनेको कुराबाट मात्र प्रभावित हुनुहुँदैन । छलफल र अनुसन्धान सबै हुन्छ । अहिलेलाई सामाग्री आयो, मान्छेको जीवन रक्षा भइरहेको छ।’ स्वास्थ्य सामाग्री खरीदमा भएको अनियमितता विषयमा संचारकर्मीले सोधेको प्रश्नको उत्तर दिंदै खतिवडाले भने–‘त्यसपछि विधि पुग्यो या पुगेन, महंगो सस्तो हेर्ने कुरा छँदैछ ।’ 

उनले यस्ता सामाग्री खरीदका सबैभन्दा राम्रो विधि जीटूजी नै रहेको र यसका लागि सरकारले यसअघि प्रयास गरेको समेत दाबी गरे । ‘सरकारले सोझै सरकारबाटै खरीद गर्ने प्रयास पनि नभएको होइन । हामीले हाम्रा दुवै छिमेकीलाई यो यो चाहियो भनेर पनि पठाएका हौ ।’ खतिवडाले भने–‘तर दुवै छिमेकी पनि समस्यामा रहेका कारण त्यहाँबाट उत्तर आएन । यहीकारण मात्र हामीले निजी क्षेत्रलाई आह्वान गरेका हौ ।’ 

उनले अब पनि जी टू जीकै प्रक्रियाबाट त्यस्ता सामाग्री खरीदको प्रयास थालिएको संकेत समेत गरेका थिए ।