काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडको चौथो वार्षिक साधारणसभा माघ १२ गते शनिवार बुटवलमा सम्पन्न भएको छ । 

सो अवसरमा अध्यक्ष माणिकरत्न शाक्यले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले आ.व. २०७४/७५ को आषाढ मसान्तसम्म देशका ५७ जिल्लामा १८८ वटा इलाका/शाखा कार्यालय मार्फत लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा पुर्याएको र उक्त अवधिमा खुद नाफा रू.१६ करोड ३ लाख १० हजार गरेको बताए । 

सो अवधिमा लगानीमा रहेको बाँकी कर्जा रू. ८.६६ अर्ब र बचत परिचालन रू. २.७४ अर्ब रहेको बताउँदै अध्यक्ष शाक्यले समीक्षा अवधिमा गत वर्षको तुलनामा मुनाफामा १२.६५ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १२.१५ प्रतिशत र बचत परिचालनमा २१.६७ प्रतिशतले बृद्धि भएको विवरण पेश गरे ।

सभामा प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले संस्थाको विविध पक्षका बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए भने उक्त सभामा शेयरधनीको तर्फबाट  नेपाल सरकारका प्रतिनिधि आन्तरिक राजश्व कार्यालय, बुटवलका प्रमुख करअधिकृत अर्जुन ढकालले मन्तव्य राख्दै नेपाल सरकारको गरिबी न्यूनिकरण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु हुँदै चौथो वार्षिक साधारणसभाको सफलताको कामना गरे ।

साधारणसभामा विभिन्न शेयरधनीले उठाउनु भएको जिज्ञासाका सम्बन्धमा संचालक समितिका अध्यक्ष माणिकरत्न शाक्य र प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले जवाफ दिएका थिए । 

यस क्रममा अध्यक्ष शाक्यले संस्थाले शेयरधनी एवं ग्राहक सदस्यहरूको हित संरक्षण र सम्वद्र्धन हुने गरी  आफ्नो कारोवार सञ्चालन गर्दै आएकोे जानकारी गराए । उनले शेयरधनीहरूलाई उचित प्रतिफल दिन संस्थाले योजनावद्ध ढंगले कार्य गरिरहेको समेत बताए । 

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले संस्थाको समग्र वित्तीय अवस्थामा क्रमशः सुधार भइरहेको र चालु आ.व.मा हकप्रद शेयर जारी गरी पुँजी बृद्धि गर्ने प्रक्रिया अगाडि बढेको एवं कार्यक्रम नपुगेका जिल्लामा नियमन व्यवस्था अनुरुप शाखा स्थापना गरी आफ्नो सेवा तथा कार्यक्रम विस्तार गर्ने, शेयरधनीहरूलाई लाभांश वितरण गर्न सक्षमता हासिल गर्ने गरी व्यवस्थापनले कार्य गरिरहेको, समूह सदस्यहरूलाई तालिम गोष्ठी, अवलोकन, भ्रमणमा बढीभन्दा बढी सहभागी गराई संस्थाको नीति नियमको परिधिभित्र रहेर ग्राहक सदस्यहरूलाई विभिन्न राहात सुविधा प्रदान गर्न, ग्राहक सदस्यहरूको सीप विकासमा सघाउ पुर्याउने लगायतका कार्य गरिएको जानकारी गराए ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंक समेतको लगानी रहेकोे राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाले विपन्न वर्गका समुदाय विशेष गरी महिलाहरूको आर्थिक तथा सामाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरू प्रदान गर्दै आइरहेको छ । हाल अधिकृत पुँजी रु. १ अर्ब, जारी तथा चुक्ता शेयर पुँजी रू.६५ करोड ५० लाख रहेको यस संस्थाले गत आश्विन ५ गते सम्पन्न भएको संस्थाको विशेष साधारणसभाको निर्णय अनुसार १: ०.५ अर्थात २ शेयर बरावर १ शेयरको अनुपातमा हकप्रद शेयर जारी गरी पूँजीको आधार थप मजबुत बनाउन लागेको छ ।  

यसैगरी, सोही दिन सम्पन्न भएको साधारण सभाले संस्थाको सञ्चालक समितिमा रिक्त रहेको एकजना सर्वसाधारण समूह (ख)अन्तर्गत सञ्चालक पदमा बाँकी कार्यकालका लागि सुशीलकुमार थापालाई निर्वाचित गरेको छ ।