काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर ओटिसी मार्केटमा किनबेच प्रकरणमा आफ्नो कुनै दोष नरहेको दाबी गर्दै राजीनामा नदिने बताएका छन् । 

बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यही प्रकरणमा भइरहेको अनुसन्धानलाई सजिलो पार्न भन्दै राजीनामा दिएलगत्तै बिजशालासँग कुरा गर्दै नियामक बोर्डका अध्यक्ष ढुंगानाले यस्तो प्रतिक्रिया दिएका हुन् । 

'मैले के अपराध गरेको छु र राजीनामा दिनलाई ?' तपाई पनि राजीनामा गर्ने तयारी हुनुहुन्छ रे नि ? भन्ने प्रश्नको जवाफ दिंदै ढुंगानाले भने-'सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमार्फत मेरी छोरीले किनेकी हुन्, मैले किनेको होइन । मेरो दोष नै नभएको प्रकरणमा मैले राजीनामा दिनुपर्छ जस्तो लाग्दैन ।' 

उनले अर्थमन्त्रालयबाट यो विषयमा छानबिन भइरहेको र त्यसमा आफूले पूर्ण सहयोग गर्ने समेत वचन दिएका छन् । 

उनले आफू बोर्ड अध्यक्ष भएपछि बजार सुधारका लागि व्यापक कामहरु गरेका दाबी गर्दै गल्ती नै नभएको विषयलाई लिएर आफ्नो चरित्रहत्या भइरहेको बताए । 'म अध्यक्ष बनेर आएपछि बजार विस्तार र विकासमा भइरहेका कामहरुको विषयलाई चाहि कसैले नहेर्ने ?' उनले आक्रोशित हुँदै भने-'अनि मैले गल्ती नै नगरेको विषयलाई उछालेर अप्ठ्यारोमा पार्ने ? गल्ती नै छैन भने जोसुकैले भनोस् म राजीनामा दिँन्न ।'