काठमाण्डौ । विश्व महामारीका रुपमा देखिएको सात महिनापछि कोरोनाभाइरसविरुद्ध आफ्ना वैज्ञानिकहरुले बनाएको पहिलो भ्याक्सिन प्रयोगका लागि तयार भएको रुसले दाबी गरेको छ। 

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोवका अनुसार क्लिनिकल ट्रायल सफलतापूर्वक पूरा गरेको यो नै विश्वको पहिलो भ्याक्सिन हो। ‘मस्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले यो भ्याक्सिनको मानिसमा सफलतापूर्वक ट्रायल गरेको हो’, वादिम भन्छन्, ‘जसमा भ्याक्सिन मानिसका लागि सुरक्षित रहेको प्रमाणित भएको छ। अझै जो संक्रमितहरुमा यो भ्याक्सिन परीक्षण गरिएको थियो, तीमध्ये एउटा समूह निको भएर यही जुलाई १५ र अर्को समूहलाई जुलाई २० मा अस्पतालबाट डिस्चार्ज हुँदैछन्।’ 

सेचेनोफ युनिभर्सिटीले गत जुन १८ देखि रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा निर्मित यो भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु गरेको थियो। 

युनिभर्सिटीका वरिष्ठ अधिकारी एजेक्जन्डर लुकाशेवका अनुसार क्लिनिकल ट्रायलका क्रममा यो भ्याक्सिन मानिसका लागि सुरक्षित रहेको प्रमाणित भएको छ। ‘अब यो भ्याक्सिन प्रयोगमा ल्याउन सकिन्छ’, उनले भने, ‘यसको व्यापक उत्पादनका लागि तयारी र रणनीति तय गरिनेछ।’

अहिलेसम्म यो भाइरसबाट विश्वभर १ करोड २८ लाख बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये ५ लाख ५५ हजार बढीको ज्यान गएको छ भने ७० लाख बढी निको भएर घर फर्किसकेका छन्। – एजेन्सी