काठमाण्डौ । विश्वमहामारी कोरोनाभाइरसले अहिलेसम्म २११ देशलाई आफ्नो चपेटामा पारिसकेको छ। तर केही यस्ता देश पनि छन् जहाँ अहिलेसम्म एकजना पनि कोरोनाभाइरसबाट संक्रमित भएका छैनन्। यिनैमध्ये एउटा देश हो तुर्केमेनिस्तान।
विशेषज्ञहरु भने तुर्केमेनिस्तान सरकारले सच्चाई लुकाइरहेको छ किनकि यसले यो महामारीसँग लड्ने प्रयासमा झट्का लाग्न सक्छ। यतिबेला विश्वका अधिकांश देश यो महामारी रोकथामका लागि लकडाउन गरिएका छन् तर तुर्केमेनिस्तानमा मंगलबार भने विश्व स्वास्थ्य दिवसका अवसरमा ठूलो संख्यामा साइकिल र्याली नै निकालियो।
यो मध्यएसिया देशमा यो दाबी गरिएको छ कि त्यहाँ अहिलेसम्म एकजना पनि कोरोना संक्रमित देखिएका छैनन्। तर के सेन्सरसिपका लागि चर्चित तुर्केमेनिस्तान सरकारले दिएको तथ्यांकमा भरोसा गर्न सकिन्छ ?
तुर्कमेन हेल्थकेयर सिस्टमको अध्ययन गर्ने लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्रोफेसर मार्टिन म्याक्की भन्छन्, ‘तुर्केमेनिस्तानबाट आधिकारिक रुपमा स्वास्थ्यका जुन आँकडा जारी गर्ने काम भइरहेको छ, त्यसमा विश्वास गर्न सकिँदैन।’
प्रोफेसर मार्टिनका अनुसार यसअघि पनि तुर्केमेनिस्तानले एचआईभी÷एड्सका एकजना पनि बिरामी नरहेको तथ्यांक सार्वजनिक गरेको थियो। ‘त्यहाँ स्वास्थ्य तथ्यांक भरोसा गर्न लायक छैन’, उनी भन्छन्, ‘सन् २००० को दशमा पनि उसले लगातार थुप्रै रोगका बारेमा जानकारी लुकाएको थियो। जसमा प्लेगजस्तो महामारी पनि सामेल छ।’
तुर्केमेनिस्तानको राजधानी आश्गामा बसोबास गर्ने एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘मैले चिनेका एक सरकारी एजेन्सीमा काम गर्ने साथीले यहाँ कोरोनाभाइरस फैलिएको विषय नबोल्न भनेका छन्। यसले हामीलाई संकटमा पार्न सक्छ।’
त्यसो त तुर्केमेनिस्तान प्रशासन लगातार यसबाट संक्रमित बिरामीलाई बचाउने कोसिस र संक्रमित मानिसको खोजीमा लागेको छ। देशमा संयुक्त राष्ट्रसंघको एजेन्सीहरुसँग मिलेर तुर्केमेनिस्तानले यो भायरसँग लड्न एक्सन प्लान पनि बनाइरहेको चर्चा चलिरहेको छ।
संयुक्त राष्ट्रसंघकी रेसिडेन्ट कोअडिनेटर एलेना पनोवाले बीबीसीलाई बताएअनुसार यो प्लानमा देशभरमा कोअर्डिनेसन, रिस्क कम्युनिकेसन, अनुसन्धान, ल्याब टेस्टिङ र अन्य उपाय अलम्बन गर्नेबारेमा कुरा भइरहेको छ। तुर्केमेनिस्तानमा हालसम्म कोरोना संक्रमित फेला नपरेको विषयमा उनीसँग जिज्ञासा राख्दा पनोवाले बोल्न चाहिनन्। उनले भनिन्, ‘हामीले आधिकारिक जानकारीमै भरोसा गर्ने हो, अन्य देशमा पनि त्यस्तै छ।’
पनोवाका अनुसार त्यहाँ सुरुआती अवस्थामा यात्रामा रोक लगाइएका कारण पनि संक्रमित नदेखिएको हुन सक्छ। तुर्केमेनिस्तानमा करिब १ महिनाअघि नै आफ्नो सबै सीमा बन्द गरिएको थियो। यसका साथै फेब्रुअरीदेखि नै तुर्केमेनिस्तानले चीनलगायत केही देशबाट हवाई यात्रामा रोक लगाउनुका साथै अन्तर्राष्ट्रिय उडानमा राजधानीका सट्टा तुर्केमेनाबादमा डाइभर्ट गरिएको थियो।
पनोवाका अनुसार तुर्केमेनिस्तानमा आउने हरेक व्यक्तिको कोरोना संक्रमण जाँच गरिएको थियो। यद्यपि अहिलेसम्म कतिजनाको टेस्ट भयो र तुर्केमेनिस्तानसँग कति संख्यामा टेस्ट किट छन् भन्ने यकिन नरहेको उनी बताउँछिन्। ‘त्यहाँका सरकारी अधिकारीहरु भने हामीसँग पर्याप्त टेस्ट किट रहेको बताएका छन्’, उनी भन्छिन्।
अन्य देशको तुलनामा तुर्केमेनिस्तानको जनजीवन सामान्य नैछ। क्याफे, रेस्टुराँ खुलै छन्। विवाहलगायतका समारोहमा भीडभाड नै हुने गरेको छ। त्यहाँका मानिस मास्क लगाउँदैनन्। ठूलो संख्यामा हुने सभासम्मेलन भइरहेका छन्।
यस्तो लाग्छ कि तुर्केमेनिस्तानमा कोरोनाभाइरस महामारीलाई गम्भीरताका साथ लिइएको छैन। – बीबीसबाट भावानुवाद
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago