काठमाण्डौ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड १९ को कारण ठूलो समस्यामा परिरहेका अटोमोबाइल व्यवसायीहरुको  सहजीकरण गर्ने सम्बन्धमा छलफल भएको छ। 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधिमण्डलले आज पाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी अटोमोबाइल व्यवसायका समसामयिक विषयहरुमा पनि छलफल गरेकोे हो। छलफलमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको उल्लेख गर्दै सवारीसाधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे अवगत गराएका थिए। 

छलफलमा नाडाका उपाध्यक्ष तथा सवारीसाधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरुबारे अवगत गराए। त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जिम कोडको नवीकरण ५ बर्षका लागि नविकरण हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनुपर्ने तथा नयाँ एक्जिम कोड लिँदा बैंक ग्यारेन्टी राख्नुपर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेन्टी राख्नु नपर्ने व्यवस्थाका लागिसमेत आग्रह गरे। 

छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुब्रिकेन्टसहरुमात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे। 

छलफलमा विभागका महानिर्देशक पौडेलले अटोमोबाइल क्षेत्रमा ज्वलन्त रुपमा के–के समस्याहरु छन्, त्यसलाई बुँदागत रुपमा विभागमा पठाउन अनुरोध गरेका छन्। 

छलफलमा विभागकातर्फबाट विभागका प्रवक्ता शिवराज सेढाईसमेतको उपस्थिति थियो। त्यसैगरी नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती र सहकोषाध्यक्ष विक्रम सिंहानियासमेतको उपस्थिति थियो।