काठमाण्डौ । कोभिड–१९ को तेस्रो भेरियन्ट नेपालमा प्रवेश गर्न सक्ने विषयलाई मध्यनजर गर्दै नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड र निर्देशनका आधारमा बालबालिकाको सामान्यदेखि सघन उपचारलाई लक्षित गरी नेपाल मेडिसिटी अस्पतालले आफ्नो पूर्वतयारी सुरु गरेको छ। 

नवजात शिशु तथा १८ वर्ष उमेरसम्मका बालबालिकालाई ध्यानमा राखी अस्पतालले आफ्ना नर्स तथा मेडिकल टोलीलाई विशेष प्रशिक्षणमा सीपीआर पद्धति, आहारबिहार, इन्फेक्सन नियन्त्रण, मनोसामाजिक परामर्श, फिजियोथेरापी तथा पुनस्र्थापनाजस्ता विषयलाई प्राथमिकता दिइएको छ। दक्ष चिकित्सक तथा मेडिकल टिम, आवश्यक बेड तथा अत्याधुनिक उपकरणहरु, भेन्टिलेटर सहित नवजात तथा बाल सघन उपचार कक्षको व्यवस्था गरी बालबालिकामा महामारीको अवस्था आए अस्पताल तयारी अवस्थामा अस्पताल प्रशासनको भनाइ छ। 

तेस्रो भेरियन्ट आउनसक्ने पूर्वानुमान भइरहेका बेला आत्तिनुभन्दा यस अवस्थामा बालबालिकालाई विशेष हेरचाह गर्न, मास्क तथा स्यानिटाइजरको प्रयोगमा प्रोत्साहन गर्न र अनावश्यक रुपमा घरबाहिर ननिस्किन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले सल्लाह दिएका छन्। महामारी बढ्दै गएको अवस्थामा देशमा विभिन्न स्थानबाट आकस्मिक उद्धार आवश्यक परे त्यसका लागि हवाई तथा ग्राउन्ड एम्बुलेन्स सेवाका प्रदान गर्न प्रि–हस्पिटल केयर तथा इमर्जेन्सी विभाग तयार रहेको राणाले जानकारी दिए। उनका अनुसार बालबालिकाहरुलाई हेलीकोप्टरबाट उद्धार चाहिने खण्डमा विशेषज्ञ चिकित्सकले नै सो स्थानमा गई आवश्यक उपचार गर्दै नेपाल मेडिसिटीसम्म स्थानान्तरण गराउन सक्नेछन्। 

नेपाल सरकारले कुल बेड संख्याको २० प्रतिशत बेड छुट्याउन भने पनि नेपाल मेडिसिटी अस्पतालले करिब १०० वटा बेड नवजात शिशिुको सघन उपचार कक्ष (एनआईसीयू), बालबालिकाको सघन उपचार कक्ष (पीआईसीयू) र सामान्य बेड बालबालिकाहरुकै लागि निर्धारित गरी त्यसका लागि आवश्यक पर्ने उपकरण, आमा तथा बच्चाका लागि सुरक्षा व्यवस्था, आकस्मिकदेखि सघन उपचार र भेन्टिलेटरको व्यवस्था लगायतका तयारी भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ।