काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोनाविरुद्धको खोपको तेस्रो डोज लगाउन अनुमति मागेको छ। 

कम्पनीले १२ महिनाभित्रै दोस्रो डोज लगाएकालाई थप एक डोज लगाएमा कोरोनाविरुद्धको इम्युनिटी बढाउन मद्दत गर्नेछ। कम्पनीले तेस्रो डोज लगाएमा डेल्टा भेरियन्टबाट हुन सक्ने संक्रमण रोक्नका लागि सहयोगीसिद्ध हुन सक्ने दाबी गरेको छ। कतिपय देशमा डेल्टा भेरियन्टविरुद्ध फाइजरको खोप निकै प्रभावकारी काम गरिरहेको जनाइएको छ।

यो खतरनाक भेरियन्ट हाल विश्वभर फैलिरहेको छ। अमेरिकामा हाल देखिएका संक्रमणका अधिकांश मामिलामा डेल्टा भेरियन्टकै रहेका छन्।

हाल उपलब्ध अधिकांश खोपको दुई खुराक कोरोनाको डेल्टा भेरियन्टमात्र नभएर सबै संक्रमण र भाइरसविरुद्ध लड्न एन्टिबडी विकसित गर्नलाई अहम भूमिका खेलिरहेका छन्। अहिले विश्वभर सुरुआती सुरक्षात्मक खुराक पाउनका लागि निकै प्रतिक्षारत छन् किनकि यो महामारी अझै अस्तित्वमा रहेको छ। 

फाइजरका डा मिकेल डल्स्टनका अनुसार कम्पनीको बुस्टर स्टडीको सुरुआती आँकडाअनुसार मानिसमा तेस्रो डोजपछि एन्टीबडी निर्माणको स्तर दोस्रो डोज लगाएपछिको तुलनामा ५ देखि १० गुणा बढी भइरहेको छ। ‘हामीले आउँदो अगस्टबाट फाइजरको तेस्रो डोजको आपतकालीन प्रयोगको अनुमति अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रनसँग माग्ने योजना बनाइरहेका छौँ।’

फाइजरको तेस्रो डोजले डेल्टा भेरियन्टलाई बेअर गरिदिने दाबी डा मिकेलले गरे। – एजेन्सी