काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार कोभिडका कारण अहिलेसम्म २० करोड अमेरिकीले आफ्नो जागिर गुमाइसकेका छन्। तर अमेरिकी अर्बपतिहरूको सम्पत्ति भने दैनिक रूपमा बढ्दो क्रममा छ। 

महामारीमा अधिकांश उद्योग बन्द छन्। त्यसका बाबजुद पनि अमेरिकाका अर्बपतिहरूको कुल सम्पत्ति १ ट्रिलियन डलरभन्दा बढीले बढेको छ। गत वर्ष जनावरी १  मा अमेरिकी अर्बपतिहरूको कुल सम्पत्ति ३.४ ट्रिलियन डलर थियो। यो वर्ष उनीहरूको कुल सम्पत्ति ४.६ ट्रिलियन डलर पुगेको छ। 

महामारीमा धेरै कमाउने अर्बपतिहरूमा टेस्ला कम्पनीका सीईयो एलन मस्क, अमेजनका सीईओ जेफ बेजोस, गुगलका ल्यारी पेज, फेसबुकका मार्क जुकरबर्ग र माइक्रोसफ्टका बिल गेट्स परेका छन्। 

टेस्ला र स्पेस एक्सको कुल सम्पतिमा ५४० प्रतिशतले वृद्धि भएको छ। यो कम्पनीको कुल सम्पत्ति २७ अर्ब अमेरिकी डलरबाट १७० अर्ब पुगेसँगै मस्कको सम्पत्ति १४४ बिलियन डलरले वृद्धि भएको छ। 

महामारी सुरु भएसँगै जेफ बेजोसको कुल सम्पत्तिमा ८६ बिलियन अमेरिकी डलर, ल्यारी पेजको कुल सम्पत्तिमा ४२ बिलियन अमेरिकी डलर, मार्क जुकरबर्गको कुल सम्पत्तिमा ३५ बिलियन अमेरिकी डलर र बिल गेट्सको कुल सम्पत्तिमा २२ बिलियन अमेरिकी डलरले वृद्धि भएको छ। 

महामारीमा नयाँ अर्बपतिहरू थपिने संख्या पनि बढ्दो छ। फोर्ब्स म्यागेजिनका अनुसार महामारी सुरु भएसँगै ४९३ जना नयाँ अर्बपतिहरू थपिएका छन्। नयाँ अर्बपतिहरूमा एप्पल कम्पनीका सीईयो टिम कुकका साथै प्रसिद्ध चलचित्र निर्माता टाइलर पेरी पनि परेका छन्। 

कोरोना सुरु भएसँगै कोरोनाको औषधि उत्पादन गर्ने कम्पनीका सेयरधनीहरू पनि नयाँ अर्बपतिहरूको सूचीमा परेका छन्। 

अहिले बिटक्वाइन, डगक्वाइनजस्ता क्रिप्टोकरेन्सीहरूको मूल्य बढ्ने क्रममा छ। जसका कारण क्रिप्टोमा लगानी गर्दै आएका लगानीकर्ता पनि नयाँ अर्बपतिहरूको सूचीमा परेका छन्। – एजेन्सीको सहयोगमा